Logo

कोलकत्ता बन्दरगाहको आकासे पुल भाँचिदा सामान आयात बन्द, थन्कियो १४ सय कन्टेनर

कोलकत्ता बन्दरगाहको आकासे पुल भाँचिदा सामान आयात बन्द, थन्कियो १४ सय कन्टेनर



काठमाडौं । कोलकत्ता बन्दरगाहको ‘फ्लाई ओभर ब्रीज’ भाँचिदा नेपालमा आयात गरिने बस्तु ढुवानी बन्द भएको छ ।

नेपालमा भारत तथा तेस्रो मुलुकबाट आयात गरिने मालसामान कोलकत्ता बन्दरगाह हुँदै आउने गरेकोमा सो बन्दरगाहको आकासे पुल भाँचिदा सम्पूर्ण आयात बन्द हुन पुगको नेपाल फ्रेड फरवार्डस एशोसियशनका अध्यक्ष प्रकाश कार्कीले जानकारी दिए ।

बन्दरगाहमा भाँचिएको पुल हटाउन नै ३÷४ दिन लाग्ने र रेल्वे ट्रयाक सफा गर्न पनि केही दिन लाग्नसक्ने भएकाले करिब १ हप्ताजति कोलकात्ता बन्दरगाहबाट ढुवानी बन्द हुने उनको भनाई थियो । ‘बन्दरगाहको ठूलो आकासेपुल हिजो भाँचिएको छ,’ उनले भने, ‘त्यो पुल हटाएर ट्रयाक सफा नगरेसम्म ढुवानी गर्न सकिँदैन ।’

हाल कोलकोत्तामा १३÷१४ सय नेपाली कन्टेनर थन्किएर बसेको र अबको १ हप्ताभित्र त्यस्तो संख्या बढेर २५ सय देखि ३ हजारसम्म पुग्ने समेत कार्कीले जानकारी दिए ।

दशै तिहारका लागि मालसामान आयात गर्ने समयमा कोलकत्ता बन्दरगाह बन्द हुँदा सोका लागि सामान आयातमा समेत समस्या पर्ने सम्मद्ध व्यवसायीहरु बताउँछन् । ‘अहिले कोलकत्ता बन्दरगाहमा विशेषगरी दशै तिहार लक्षित सामानहरु आइपुगेका छन्,’ एक व्यवसायीले भने, ‘१ हप्ताजति बन्दरगाह बन्द हुँदा मालसामान आयातमा ठूलो मसस्या पर्नेछ ।’

आकासे पुल भाँचिदा सो स्थानमा मोटर चलाउनका लागि पनि दिउसोको समयमा रेल संचालनमा रोक लगाउन सक्ने कार्कीले जानकारी दिए । ‘यस अघि आकासे पुलबाट गाडी चल्थ्यो भने २४ सै घण्टा रेल चल्न पाउँथ्यो,’ उनले भने, ‘अबका दिनमा सडकबाटै सवारीसाधन चलाउनु पर्ने भएकाले रातीको समयमा मात्र बन्दरगाहबाट सामान लिएर रेल छुट्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्