Logo

सरकारलाई विकास समितिको प्रश्न, नेपालका नगरपालिकाहरू सहर हुन कि गाउँ ?

सरकारलाई विकास समितिको प्रश्न, नेपालका नगरपालिकाहरू सहर हुन कि गाउँ ?



काठमाडौं । विकास तथा प्रविधि समितिले नेपाल सरकारलाई नेपालमा भएका विभिन्न नगरपालिकाहरु शहर हुन या होईनन भनि स्पष्टीकरण मागेको छ ।

समितिको मंगलबार बसेको बैठकले सहरको परिभाषामा अन्यौलता रहेको बताउँदै भौतिक पूर्वाधार लगायतका आधारमा नगरपालिकाहरु सहर हुन् वा हैनन् भनि प्रश्न गरेको हो ।

समितिले के–कस्ता पूर्वाधारहरु भए पश्चात सहर हुने हो ? सहर विकास सम्बन्धी एसियाली मापदण्ड भित्र नेपालको कुन–कुन सहर पर्दछन् ? साथै काठमाण्डौ उपत्यकाको जनसंख्या बहन गर्ने क्षमता कति हो भन्ने सम्बन्धी जानकारी सहरी विकास मन्त्रालयले आफुलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

बैठकले काठमाण्डौ उपत्यकाको आसपास विकास गर्ने भनिएका स्याटलाइट सिटीहरुको निर्माणले गति लिन नसकेको बताउँदै यसका लागि ल्याण्डपुलिङ्ग कार्यमा समेत अपेक्षित प्रगति नभएको जानकारी दिएको छ । समितिले स्याटलाइट सिटी निर्माणमा देखिएका समस्याहरुलाई तत्काल समाधान गरी यसका लागि आवश्यक कार्य अगाडि बढाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट चोभार सतुङ्गलमा रोकिनुको कारण माग्दै आयोजना लम्बिनुको कारणको पनि स्पष्टिकरण मागेको छ ।

साथै समितिको बैठकले धोबीखोला करिडोर अनामनगरमा पस्ने गरि बनेको हुनाले बनाउनु पूर्व बिचार नगरिनुको कारण १५ दिनभित्र लिखित रुपमा समितिलाई बुझाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बैठकले नेपालमा बस्ती विकास वैज्ञानिक ढङ्गले हुन सकेको बताउँदै वैज्ञानिक आधारमा मापदण्ड अनुरुपका एकीकृत बस्ती विकास गर्ने तर्फ गम्भीरतापूर्वक ध्यान केन्द्रित गरी कार्यसम्पादन गर्न तथा भूमिसँग सम्बन्धित मन्त्रालयबीच समन्वय गरी भूउपयोग नीति तत्काल बनाउन माग गरेको छ । साथै यसको नितिलाई कार्यान्वयनमा ल्याई आवास निर्माण एवम् अन्य भौतिक पूर्वाधार निर्माण मापदण्ड अनिवार्य रुपमा लागू गर्न, गराउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL