Logo

उपत्यकाका मुख्य सडकका खाल्डाखुल्डी पुरिए, अन्य सडकको मर्मत पनि चाँडै गरिँदै

उपत्यकाका मुख्य सडकका खाल्डाखुल्डी पुरिए, अन्य सडकको मर्मत पनि चाँडै गरिँदै



काठमाडौं । उपत्यकाका मुख्य मार्गका खाल्डाखुल्डी पुरिएका छन् । वर्षातले पानी जमेर सवारी आवतजावतमा हुने समस्या कम भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनको अवसरमा उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी पुरिएको हो । सडक विभागले भने खाल्डाखुल्डी पुर्ने काम नियमित हुने जनाएको छ । यसका लागि चालू आर्थिक वर्षमा ३ अर्ब ५० करोड रुपैयाँको बजेट रहेको विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।
‘सडकको खाल्डाखुल्डी मर्मत सम्भारका लागि रु १५ अर्ब माग गरेका थियौँ, सडक बोर्ड नेपालले ३ अर्ब ५० करोडको मात्र व्यवस्था गरेको छ, यस वर्ष बिम्स्टेकको बैठक परेकाले थप बजेट आवश्यक परे अर्थमन्त्रालयले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ’, उनले भने ।

वर्षायाममा बढी सडक बिग्रने भएकाले बिटुमिन राखेर काम गर्न मिल्दैन । हाल इमुल्सन राखेर खाल्डाखुल्डी पुर्ने काम भइरहेको विभागले जनाएको छ । बिम्स्टेकका लागि विशेष सवारीको मार्ग परेको त्रिपुरेश्वर–कालीमाटी–कलङ्की र चाबहिल–बौद्ध–जोरपाटी–थली मार्गको मर्मत सम्भार ठेक्का लागेकै निर्माण व्यवसायीबाट गराइएको प्रवक्ता गौतमले बताए ।

बिम्स्टेकलाई लक्ष्य गरेर मर्मत सम्भार गर्ने सडकको काम बुधबारसम्म सम्पन्न हुने जनाइएको छ । यस अवसरमा सडकमा विशेष रङरोगनसमेत गरिएको छ । केही स्थानमा जेब्रा क्रससमेत बनेको छ ।

खानेपानीको पुरानो वितरण सञ्जालको पाइप फुटेर सडकमा पानी जमी धेरै खाल्डाखुल्डी हुने गरेको विभागको भनाइ छ । बिम्स्टेकको मुखमा मुख्य मार्गका खाल्डाखुल्डी टालिए पनि अतिथिको मार्ग नपर्ने सडकमा कसैको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ । विभागले भने १५ दिनपछि बिग्रिएका सबै सडकको मर्मत सम्भार गरिने जनाएको छ ।

गोकर्ण रिसोर्टमा बिम्स्टेकका पाहुनाको कार्यक्रम राख्दा त्यहीँसम्मको मात्र सडकको खाल्डाखुल्डी टाल्ने काम भएको तर साँखुसम्म काम नगरिएको स्थानीय जीवनाथ सिम्खडाले गुनासो गरे । यसैगरी भित्री सडकमा बनेका खाल्डाखुल्डी पनि टालिएको छैन । मर्मत सम्भार गर्नुपर्ने सडकमा विभागले खटाएका पहेँलो र हरियो ज्याकेट लगाएका कामदारले सफाइको काम शुरु गरिसकेको प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्