Logo

सवारी दुर्घटना कम गर्न ३ वटा भेहिकल टेस्टिङ सेन्टर स्थापना, यसरी गरिन्छ सवारी स्वास्थ्य जाँच

सवारी दुर्घटना कम गर्न ३ वटा भेहिकल टेस्टिङ सेन्टर स्थापना, यसरी गरिन्छ सवारी स्वास्थ्य जाँच



काठमाडौं । यातायात व्यबस्था विभागले सवारी दुर्घटना न्युनिकरण गर्न चालु आर्थिक बर्षभित्र ३ ओटा भेहिकल टेस्टिङ सेन्टर (सवारी परीक्षण कार्यालय) स्थापना गर्ने भएको छ ।

नेपालमा सवारी दुर्घटनामा दोस्रो ठुलो कमजोरी सवारी साधनको प्राविधिक पक्ष रहेको तथ्याङ्क धेरै आएपछि सवारीसाधनको प्राविधिक पक्षलाई जाँच गरेर मात्रै सडकमा चलाउने गरी उक्त कार्यालयहरु स्थापना गर्न लागिएको हो ।

सवारीसाधनको प्राविधिक परीक्षणका लागि नयाँ ३ ओटा कार्यालय चालु आबभित्र स्थापना गर्ने भएको छ । नेपालमा हाल यस्तो सवारी परीक्षण कार्यालय एउटा मात्रै रहेको छ । काटमाडौंको टेकुमा रहेको उक्त कार्यालयले सन्तोषजनक रुपमा काम गरिरहेको छैन । तर विभागले आगामी दिनमा हेटौँडा, बुटवल र सम्भव भएसम्म काठमाडौंमा थप अर्काे यस्तो कार्यालय संचालनमा ल्याउनका लागि अध्धयन थालेको हो । भेहिकल टेस्टिङ सेन्टर स्थापनाको अध्ययन गर्नका लागि विभागले परामर्शदाता नियुक्त गर्न सुचना समेत जारी गरेको छ ।

नेपालमा सवारी साधनको प्राविधिक कमजोरीका कारण सवारी दुर्घटना अत्याधिक हुने गरेको तथ्याङक आएपछि यसको अवधारणा ल्याएको र यसका लागि एक सल्लाहकारको आह्वान गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार उक्त सेवा काठमाडौं उपत्यका बाहिर बुटवल र भैरहवामा निर्माण गरिने भएपनि यसका लागि विशेष सल्लाहकारको आवश्यक परेकाले परामर्शदाता १ जना आह्वान गरिएको हो ।

उक्त कार्यालयले सवारीसाधनको इन्जिन, यसको क्षमता, यसका अन्य प्राविधिक पक्षहरुको बारेमा जानकारी लिई कस्ता सवारीसाधनलाई सडकमा चल्न दिने भनेर अध्ययन गर्दछ । उक्त कार्यालयले सडकमा चलाउन हुने सवारी साधनहरु तोकिदिएपछि सोहि अनुसार विभागले तोकेको रुटमा सवारीसाधन चलाउन दिन व्यबस्था गरिने विभागका निर्देशक तथा प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्