Logo

२२ बर्षमा दर्ता भए ३ सय ३२ यातायात कम्पनी, पछिल्लो ४ महिनामै थपिए २ सय १९

२२ बर्षमा दर्ता भए ३ सय ३२ यातायात कम्पनी, पछिल्लो ४ महिनामै थपिए २ सय १९



काठमाडौं । नेपालभरीबाट पछिल्लो २२ बर्षमा जम्मा ३ सय ३२ ओटा यातायात कम्पनी विभागमा दर्ता भएका छन ।

सवारी तथा यातायात व्यबस्था ऐन २०४९ को दफा ९३ मा रहेको सार्वजनिक सवारी साधन कम्पनीमा दर्ता हुनुपर्ने नितिअनुसार विसं २०५४ सालदेखि हालसम्म जम्मा ३ सय ३२ ओटा सार्वजनिक यातायात कम्पनीको रुपमा दर्ता भएका हुन ।

विभागका अनुसार नेपालको सडकमा हाल ३० लाखभन्दा बढी सवारीसाधनहरु गुड्ने गरेका छन । उक्त सवारी साधनहरु केही विभिन्न समितिको मातहतमा छन भने केही कम्पनीमा दर्ता भएर विभागमा समेत दर्ता भईसकेका छन ।

हालसम्म यातायात व्यबस्था विभागमा दर्ता भएका उक्त सार्वजनिक यातायातहरु नेपालको ७ ओटै प्रदेशमा मौजुदा छन । हाल विभागमा दर्ता भएका ३ सय ३२ ओटा कम्पनीमध्ये यो बर्षको बैशाख देखि हालसम्म मात्रै २ सय १९ ओटा सार्वजनिक यातायात कम्पनीहरु विभागमा दर्ता भएका हुन । यसभन्दा अघिल्लो बर्षभरीमा भने जम्मा २७ ओटा यातायात कम्पनीहरुमात्र विभागमा दर्ता भएका थिए ।

सरकारले यातायातमा मौजुद सिन्डिकेटको अन्त्य गर्ने अभियान चलाएपछि पनि यो बर्षको ४ महिनामा उक्त संख्यामा सार्वजनिक यातायात पञ्जीकरण भएको विभागले जानकारी दिएको छ । साथै हालसम्म विभागमा पञ्जीकरण भएकामध्ये प्रायजसो यातायात कम्पनीहरुले आफ्नो अधिकृत पूँजी १० लाखभन्दा माथीे देखाएका छन । जसमध्ये सबैभन्दा बढी अधिकृत पूँजी भएको कम्पनीले भने आफ्नो अधिकृत पूँजी १२ करोड देखाएको छ ।

अन्य ठुला सार्वजनिक बस सेवाहरुले आफ्नो अधिकृत पूँजी १ करोडदेखि माथि देखाएका छन भने कतिपय कम्पनीले आफ्नो अधिकृत पूजीँ भने १५ लाखभन्दा माथीको देखाएका छन ।

विसं २०५४ देखि २०६४ को दशकमा २७ ओटा यातायात कम्पनीमा दर्ता भएका थिए । साथै २०६४ सालदेखि २०७४ को दशकमा भने ८५ ओटा कम्पनी दर्ता भएका छन ।

जस मध्ये २०७४ सालमा मात्रै २६ ओटा कम्पनी पञ्जीकृत भएका हुन । उक्त सार्वजनिक सवारीमध्ये हाल नेपालको सडकमा बस सेवा, ढुवानी सेवा, जिप सेवा ट्याक्सी सेवा, टेम्पो सेवा, मिनिबस सेवा तथा माइक्रोबस सेवा सञ्चालनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्