Logo

काठमाडौंमा चालकको लापर्वाहीले सवारी दुर्घटना बढ्यो, ९० प्रतिशत दुर्घटनामा चालक दोषी

काठमाडौंमा चालकको लापर्वाहीले सवारी दुर्घटना बढ्यो, ९० प्रतिशत दुर्घटनामा चालक दोषी



काठमाडौं । काठमाडौँ उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले दिएको जानकारीअनुसार कूल दुर्घटनाको ९० प्रतिशत भन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको हो । आर्थिक वर्ष २०७४÷७५ मा भएको ६ हजार ३ सय ८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले मात्र ५ हजार ९ सय ६१ दुर्घटना भएका छन ।

यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २ सय २१, यान्त्रिक गडबडी ४४, उछिन्दा (ओभरटेक) २९, पैदलयात्रुको लापर्वाहीले ३ र सडकको अवस्थाका कारण ४८ दुर्घटना भएका छन् । दुर्घटनामा परी २ सय १९ गम्भीर र ४ हजार ३ सय ३३ सामान्य घाइते भएका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा सवारी सङ्ख्या धेरै र चालकले जथाभावी चलाउदा धेरै दुर्घटना हुने गरेको जानकारी दिए । ‘बाटो साँघूरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ,’उनले भने ।

बाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै आठ लाख सवारी साधन ओहोरदोहोर गर्ने गर्छन् । आव २०७४÷७५ मा मात्र सवारी दुर्घटनाका कारण १९४ जनाको मृत्यु भएको थियो । दुर्घटना भएका सवारी साधनमध्ये दुईपाङ्ग्रे सवारी साधन धेरै छन् । आव २०७४÷७५ मा दुर्घटनामा मरेका १ सय ९४ मध्ये १ सय ४७ पुरुष र ४७ महिला छन् । कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १ सय ११ को मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL