काठमाडौं । काठमाडौंका मुख्य सडकहरुका खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको छ ।
आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालका खाडीका राष्ट्रको प्रयास (बीमस्टेक) को चौथो सम्मेलनका लागि काठमाडौंका विभिन्न सडकहरुको खाल्डाखुल्डी पुर्नेलगायत रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको हो ।
सडक विभागले उक्त बैठकका लागि सुरु गरेको राजधानीका मुख्य सडकहरुका खाल्डाखुल्डी पुर्ने लगायतका कामहरु अन्तिम चरणमा पुगको जानकारी दिएको छ ।
मुख्य सडकका खाल्डाखुल्डी पुर्ने काम बर्षातपछि गर्ने योजना बनाएपनि बिमस्टेक बैठक बर्षायामभन्दा अघि नै परेकोले पानी परिरहको बेला पनि खाल्डाखुल्डी पुर्ने कामलाई तीव्र पारिएको विभागका उपमहानिर्देशक मुक्ती गौतमले जानकारी दिए ।
उनका अनुसार बैठक नजिकिँदै गर्दा खाल्डाखुल्डी पुर्न पानीले उत्तिकै मात्रामा अप्ठ्यारो भएपछि सडक कालोपत्रे गर्न प्रयोग गरिने बिटुमीनको सट्टा बिटुमीन एमल्सनको प्रयोग गरि खाल्डाखुल्डी पुरिँदैछ । बिटुमीन एमल्सनमा ६५ प्रतिशत बिटुमीन र अन्य ३५ प्रतिशत केमीकल र पानीको मात्रा रहेको हुन्छ ।
साथै विभागले चाबहिल जोरपाटी खण्डको भने पानी तथा ढलको पाईप व्यबस्थापन गर्ने कार्य गरिरहेको छ । उक्त सडकखण्डमा ग्राभेलको कामलाई समेत अघि बढाईएको विभागका उपमहानिर्देशक गौतमले जानकारी दिएका छन । हाल काठमाडौंका मुख्य सडकहरुमा एयरपोर्ट, गौशाला, रातोपुलदेखि महाराजगंज सडकखण्डको खाल्डाखुल्डी पर्ने काम अन्तिम चरणमा पुगेको हो ।
साथै अर्काे खण्डअन्तरगत एयरपोर्ट सिनामङल, तिनकुने, बानेश्वर हुँदै माइतिघरसम्मको सडकको पनि खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको विभागले जानकारी दिएको छ ।
साथै उक्त स्थानमा काठमाडौं महानगरपालिकाले पनि बैठकमा भाग लिन आउने विदेशी उच्च पदश्थ पाहुनाको लागि विभिन्न ५० स्थानमा स्वागतद्धार बनाउने कामलाई तीब्रता दिएको छ । महानगरका अनुसार हाल केही स्थानमा त्यस्ता स्वागतद्धार बनाउने काम सम्पन्न भएको र केही स्थानमा बन्दै गरेको छ । भदौ ११ गतेसम्म सबै स्थानमा स्वागतद्धार बनाईसक्ने महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकका लागि मुख्य सडकखण्डका छेउमा लत्रेका तारहरु पनि व्यबस्थित गर्ने काम भईरहेको छ । विभिन्न केवल सेवाप्रदायकहरुले उक्त अव्यबस्थित तारहरु मिलाउने काम गरिरहेका छन ।