काठमाडौं । यातायात ब्यवस्था विभागले स्मार्ट लाईसेन्स छपाईको लागि अघि सारेको नयाँ योजना असफल भएको छ । विभागले स्मार्ट लाईसेन्स वितरणलाई तीव्रता दिन बजारमा भएका प्रिन्टरहरु उठाउने योजना असफल भएको हो ।
स्मार्ट लाईसेन्सको तीव्र वितरणका लागि विभागले केहिदिन अगाडी बजारमा भएका विभिन्न कम्पनीबाट कुनै एक कम्पनी छनौट गरी स्मार्ट लाईसेन्स छाप्ने प्रस्ताव ल्याएपनि निजी कम्पनी ईच्छुक नहुँदा योजना असफल भएको हो ।
स्मार्ट लाईसेन्स छाप्नका लागि धेरै कम्पनी आएपनि प्रायजसो कम्पनीले आफ्नो प्रस्ताव अस्वीकार गरेको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए । विभागमा हाल ९ ओटा स्मार्ट कार्ड छाप्ने मेशिन भएपनि कतिपय पुरानो भई विग्रदा स्मार्ट लाईसेन्स वितरणमा विभागले तीव्रता दिन सकेको छैन ।
विभागमा स्मार्टकार्ड लाईसेन्सको लागि आवेदकको संख्या दैनिक बढ्दै गएपनि सोही अनुरुप प्रविधिको तयारी नहुँदा विभागले लाईसेन्स वितरणमा तीव्रता दिन नसकेको हो । हाल दैनिक १० हजारओटा स्मार्ट लाईसेन्सको माग रहेकोमा विभागले जम्मा ३ हजार स्मार्ट लाईसेन्स मात्र दैनिक वितरण गर्दै आईरहेको छ ।
विभागमा रहेका ९ ओटा स्मार्ट लाईसेन्स प्रिन्टिङ मेशिनमध्ये हाल जम्मा ३ ओटा मेशिनले मात्रै कार्ड छाप्ने काम गरिरहेका छन । जसमा ४ ओटा मेशिनले पनि राम्रोसँग काम नगरेकाले मेकानिक ल्याएर बनाउन लाउँदा पनि काम नगरेको विभागले जानकारी दिएको छ । हाल लाईसेन्स लिनका लागि विभागमा ६ देखि ७ लाख जनाले आवेदन दिएका छन् भने साहेी अनुरुप दैनिक रुपमा आवेदनको ंसंख्या बढ्दो छ ।
पछिल्लो समय विभागले स्मार्ट कार्ड वितरणका लागि विभिन्न उपाय निकाले पनि सफल हुन सकेको छैन । ‘हामीले नयाँ ल्याएको योजना त असफल नै भयो अब हामी नयाँ योजना सहित तीव्र रुपमा स्मार्टकार्ड छपाई गर्नेछौं,’ विभागका महानिर्देशक ढकालले भने । यो याजनामा विभिन्न कम्पनीहरु ईच्छुक भई विभागमा आएपनि कसैले काममा आनाकानी गरे भने कसैले मूल्यमा पनि आनाकानी गरेको हुनाले विभाग सहमत हुन नसकेको समेत उनको तर्क थियो ।