Logo

५ अर्ब लगानीमा राष्ट्रिय प्राणी उद्यान बन्दै, अन्तरराष्ट्रियस्तरको उद्यान बन्ने

५ अर्ब लगानीमा राष्ट्रिय प्राणी उद्यान बन्दै, अन्तरराष्ट्रियस्तरको उद्यान बन्ने



काठमाडौं । सरकारले भक्तपुरको सूर्यविनायकमा निमार्णाधीन ‘राष्ट्रिय प्राणी उद्यान’ को गुरुयोजना तयार गरेको छ ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको लक्षित कार्यक्रम अनुसार गुरुयोजनालाई अन्तिम रुप दिएको उपमहानिर्देशक रामचन्द्र कँडेलले बताएका छन ।

गुरुयोजना अनुसार ५ वर्षमा निर्माण सम्पन्न हुने उद्यानको लागत ५ अर्ब बढी लाग्ने तथा विभागले छिट्टै विस्तृत परियोजना प्रतिवेदन बनाउने तयारी छ । सो गुरुयोजनाको लागि बजेट विनियोजन समेत भइसकेको छ ।

गत असारमा तयार भएको गुरुयोजनाको मस्यौदालाई विभागले स्थानीय तहका जनप्रतिनिधि, सँग र प्रदेश सभाका सदस्य, सामुदायिक वनका प्रतिनिधि, सम्बन्धित क्षेत्रका विज्ञ र स्थानीय समुदाय लगायत सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल गरिसकेको छ ।

कँडेलका अनुसार गुरुयोजना निर्माणसँगै उद्यानको मुख्य कार्यालय भवन चालु आव भित्र तयार हुने र फिल्ड कार्यालय निर्माण हुनेछ । साथै वन्यजन्तु हेर्न सुरक्षित टावर समेत निर्माण गरिने छ ।

विसं २०७१ माघ २९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडौं उपत्यकाभित्र प्राणी उद्यान स्थापना गर्न सूर्यविनायक आसपासका ७ सामुदायिक वनअन्तर्गतको २ सय ४५ हेक्टर वनक्षेत्र निर्धारण गरी काम शुरु भएको हो । हाल १० हेक्टर क्षेत्रफल थपिएको छ ।

भक्तपुरका सेतीदेवी, सूर्यविनायक, लिखानारायण, बालकुमारी, सञ्जीवनी, मन्थली र गौरादेवी सामुदायिक वनअन्तर्गतको उक्त क्षेत्रफलमा उद्यान स्थापना गर्न सीमाङ्कन निर्धारण गर्ने काम सम्पन्न भइसकेको छ ।

विभागले उद्यानको वरिपरि सिमाना छुट्याएर तारबार गरिसकेको छ । जम्मा १६ किलो मीटरको बार लगाउनुपर्नेमा १३ किमी सम्पन्न भइसकेको छ । बाँकी ३ किमी क्षेत्र मानवबस्ती अतिक्रमणमा परेकाले केही चुनौती देखिएको छ ।

उद्यानलाई अन्तरराष्ट्रियस्तरको बहुआयामिक बनाउने तयारी छ । उद्यान धार्मिक, प्राकृतिक, मनोरञ्जन, अनुसन्धान तथा अध्ययनका लागि उपयुक्त केन्द्र हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्