काठमाडौं । भदौ १ गतेदेखि देशभरका सबै नगरपालिकामा हरियो स्टिकर नलगाएका सवारीसाधन संचालनमा रोक लगाईने भएको छ । सवारी प्रदुषणलाई न्युनिकरण गर्न देशभरका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका सडकहरुमा चल्ने सवारीसाधनलाई हरियो स्टिकर अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
यातायात व्यवस्था विभागले वातावरण प्रदुषण रोक्नका लागि नेपाल भरिका महानगरपालिका उपमहानगरपालिका तथा नगरपालिकाका सडकहरुमा चल्न नपाउने नियम ल्याएको हो । काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न महानगरपालिका तथा नगरपालिकामा निजी तथा सार्वजनिक सवारी साधनमा यो नियम लागु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए ।
यसैगरी विभागले देशभरका स्थानीय तहमा सवारीसाधनको प्रदुषण नाप्नका लागि ४० ओटा मेशिन समेत पठाएको उनले जानकारी दिए । विभागले यस अघि तीन चरणको योजना बनाउँदै हरियो स्टिकर कार्यान्यनमा ल्याउने जानकारी दिएको थियो । तर, विभागसँग प्रदुषण जाँच गर्नका लागि ४ वटा मात्र मेशिन हुँदा प्रभागकारी रुपमा कार्यान्वनयमा आउन सकेको थिएन ।
विभागले पहिलो चरणमा काठमाडौं उपत्यकाको चक्रपथभित्र दोस्रो चरणमा काठमाडौैं उपत्यकाभरि यो नियम लागु गर्ने निर्णय गरेको थियो । तत्कालिन समयमा ४ वटा मेशिनमात्र प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसकेका कारण ४० ओटा मेशिन ल्याइएको विभागले जानकारी दिएको छ ।
विभागले तेस्रो चरण अन्तरगत देशभरका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा यो नियम लागु गर्ने निर्णय गरेको हो । सो कार्यका लागि विभागले १ महिना अघि नै ४० वटा मेशिन खरिद गरिसकेको छ ।
विभागले यस्तो निर्णयसँग हाल संचालनमा रहेका धेरै जसो सवारीसाधनहरु विस्तापित हुने भएका छन् । सवारी प्रदुषण मापदण्डलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याएसँगै पुराना तथा धुवा फाल्ने सवारीसाधन विस्थापित हुनेछन् ।
तर त्यस्ता सवारीसाधनलाई गाउँपालिका लगायत बाहिरका सडकमा चलाउन पाइने गरि नियम बनाएको विभागका निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए । हाल नेपालभरका १५ ओटा यातायात कार्यालयहरुमा १० हजारका दरले हरियो स्टिकर पठाईएको विभागका मेकानिकल इन्जिनियर मोहन भट्टराइले बताए । हाल उक्त स्टिकर ४ पाँग्रे सवारीसाधनमा मात्रै लागु गरिएको पनि उनले जानकारी दिए ।