Logo

१ बर्षमा खपत हुन्छ ३६ अर्ब बराबरको औषधि, ४५ प्रतिशत औषधि नेपालमै बन्छ

१ बर्षमा खपत हुन्छ ३६ अर्ब बराबरको औषधि, ४५ प्रतिशत औषधि नेपालमै बन्छ



काठमाडौं । नेपालमा १ बर्षमा लगभग ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको पाइएको छ । नेपाल औषधि विभागको तथ्याँक अनुसार ७० अर्ब बराबरको औषधि बजार रहेको नेपालमा औषधि खपत भने १ बर्षमा ३५ अर्ब बराबरको हुने गरेको भेटिएको हो ।
विभागका अनुसार नेपालमा वार्षिक रुपमा ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले उक्त तथ्याँकमा विदेशमा आयातित र स्वदेशमा उत्पादित औषधि समावेश रहेको बताए ।

नेपालमा हाल ४५ प्रतिशत औषधि उत्पादन हुने बताइन्छ भने बाँकी औषधि विदेशबाट आयातित हुने विभागको भनाइ छ । नेपाल औषधि व्यवसायी संघका महासचिव हरिप्रसाद विडारीले पछिल्लो समय ७० अर्ब बराबरको औषधि बजार रहेको जानकारी दिए ।

उनले भने, ‘स्वदेशी विदेशी औषधि, औषधिको कच्चा पदार्थ, सर्जिकललगातयको मूल्य जोड्ने हो भने करीब ७० अर्ब बजार छ ।’ विदेशबाट औषधि आयात गर्नेहरुको संस्था औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले वार्षिक २६ अर्ब रुपैयाँ बराबरको औषधि आयात भइरहेको बताए ।

उनले नेपालमा भित्रिएको औषधिमध्ये ४० प्रतिशत उपत्यकामै खपत हुने बताए । ‘काठमाडौँमै धेरै विशेषज्ञसहितका कडा रोगको उपचार हुने, सेवा सुविधा र उपचारमा पहुँचको हिसाबले पनि देशभरबाट बिरामी काठमाडाँैँ आउने भएकाले पनि काठमाडौँमा ठूलो परिणामको औषधि खपत हुने गरेको उनको भनाई छ । आयातित औषधिमध्ये ८० देखि ९० प्रतिशत भारतीय र बाँकी तेस्रो मुलुकबाट आउने गर्छ ।

नेपाल औषधि विभागमा देशभरमा गरी २१ हजार फार्मेसी पसल दर्ता भएका छन् भने ५ हजार बढी फार्मेसी बिना दर्ता नै सञ्चालन भएको हुनसक्ने नेपाल औषधि व्यवसायी संघका महासचिव विडारीका जानकारी दिए ।
नेपालमा ९० वटा मानव औषधि उत्पादन गर्ने कम्पनी दर्ता भएका छन् । तीमध्ये हाल ७० वटा कम्पनीले औषधि उत्पादन गरिरहेको महासचिव विडारीले बताए ।

नेपालमा वर्षेनी औषधि आयात बढिरहेको छ भने चिकित्सकको सल्लाहबिना जथाभावी औषधि किनेर प्रयोग गर्ने प्रचलन पनि उत्तिकै छ । विभागबाट औषधि गुणस्तरलगायतका सबै पक्षमा अनुगमन गरिरहेको विभागका महानिर्देशक ढकालको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्