काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने बताएका छन ।
सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१औँ बैठकको मंगलबार उद्घाटन गर्दै मन्त्री खतिवडाले वित्तीय अपराध र अतंकवादलाई परास्त गर्न सम्पत्ति शुद्धीकरणमा जोड दिनुपर्नेमा जोड दिएका हुन ।
नेपालमा गत शनिबारदेखि शुरु भएको उक्त बैठकमा एपिजी सदस्य राष्ट्र, पर्यवेक्षक देश, विश्वबैंकलगायत क्षेत्रका ५ सय प्रतिनिधिको सहभागिता रहेको छ । बैठक शुक्रबारसम्म जारी रहनेछ ।
वित्तीय अपराध र आतंकवादमा प्रयोग हुन सक्ने अवैध सम्पतीलाई कसरी सामूहिक रुपमा रोक्दै आर्थिक समृद्धि हासिललगायतका विषयमा बैठकमा मुख्यगरी छलफल हुने बताइएको छ । साथै सम्पत्ति शुद्धीकरणमा सदस्य देशले गरिरहेका प्रयासका बारेमा एक अर्कामा अनुभव आदानप्रदानसमेत हुनेछ ।
पछिल्लो समय नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा संशोधन गरी प्रभावकारी काम गरिरहेको छ । अर्थमन्त्री डा. खतिवडाले गैरकानूनी रुपमा आर्जन हुनसक्ने सम्पत्तिलाई वैधता हुनबाट रोक्न नेपाल सरकार चनाखो रहेको चर्चा गर्दै दिगो र समुन्नत अर्थतन्त्रको विकासका लागि लागिपरेको जानकारी दिए ।
‘डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवार एवं सूचना आदानप्रदानबाट आउन सक्ने जोखिमलाई कम गर्न ध्यान दिनुपर्छ,’ उनले भने, ‘म नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा पनिसम्पत्ति शुद्धीकरणमा विशेष ध्यान दिए थिए ।’