Logo

मदिराको नक्कली स्टिकर प्रकरण, भारतबाट नक्कली स्टिकर ल्याउने ४ जनालाई कैद सजाय,

मदिराको नक्कली स्टिकर प्रकरण, भारतबाट नक्कली स्टिकर ल्याउने ४ जनालाई कैद सजाय,



काठमाडौं । मदिराको बिक्रीमा टाँसिने राजश्वको नक्कली स्टिकर प्रकरणमा पक्राउ परी वीरगञ्ज कारागारमा रहेका चारजनालाई आन्तरिक राजश्व कार्यालय, पर्साले कैद तथा जरिवानाको सजाय सुनाएको छ ।

कैद सजाय पाउनेमा विराटनगर महानगरपालिका–१ बस्ने हरिओम ट्रेडिङ प्रालिका सञ्चालक कुलप्रसाद राजभण्डारी, भारतको पूर्वी चम्पारण रक्सौल–२० घर भएका वीरेन्द्रकुमार महतो, मोरङ विराटनगर–११ मधुमारा बस्ने प्रकाश घिमिरे र धादिङ धुनिबेँसी–३ घर भई काठमाडौँ बूढानीलकण्ठ–१० बस्ने राजकुमार भण्डारीसमेतलाई कैद सजाय सुनाइएको आन्तरिक राजश्व कार्यालय, पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिए ।

अन्तःशुल्क ऐन, २०५८ को दफा १६(१) को खण्ड ‘घ’मा उल्लिखित कसुर ठहरेकाले निजहरुलाई जनही नक्कली स्टिकर प्रयोग गर्दा कायम हुने बिगो र बिगोबराबरकै जरिवाना गरी ६ करोड ७८ लाख ७० हजार १ सय १६ र १ वर्षको कैद सजाय सुनाइएको छ ।

विसं २०७४ भदौ १९ गते राजधानीको हरिओम ट्रेडिङ प्रालिले भारतबाट करीब ३ करोड ५० लाख मूल्यबराबरको ८६ हजार ७ सय ४० थान नक्कली स्टिकर वीरगञ्ज भन्सारको वैधानिक च्यानलबाट नेपाल भित्र्याइरहेका बेला पक्राउ गरिएको थियो ।

यस मुद्दामा दोषी ठहर भई फरार रहेका विनोदकुमार गुप्ता, मधुकुमारी चौधरी, सतिस गुप्ता र राहुल गुप्तालाई मुलुकी ऐनको दण्ड सजाय महल नम्बर ३८ बमोजिम थप दश बर्ष कैद सजाय, बिगो र बिगोबमोजिमको जनही ६ करोड ७८ लाख ७० हजार १ सय १६ जरिवाना तिर्नुपर्ने देखिन्छ ।

गुप्ता भने सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासको आदेशबाट रिहा भए पनि पक्राउ परेकाहरुसँग पटकपटक बयान लिने क्रममा गुप्ताको नाम दोहोरिइरहँदा उनलाई पनि सोधपुछका लागि बोलाउँदा आएका थिएनन् ।

सो स्टिकर बजारमा गए सरकारलाई ४ करोड घाटा हुने थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL