Logo

भरतपुरको क्यान्सर अस्पतालमा ३०० शैय्या थपीँदै, साउन देखी संचालनमा

भरतपुरको क्यान्सर अस्पतालमा ३०० शैय्या थपीँदै, साउन देखी संचालनमा



काठमाडौं । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३ सय शय्या थप गरिने भएको छ ।

अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शैय्या थप गरी ४ सय ९४ शैय्या पुर्याउन लागिएको हो । हाल अस्पतालमा १ सय ९४ शैय्या छन ।

भवनको काम पूरा भएको र लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना प्रक्रिया जारी रहेकाले साउनदेखि थप शैय्या प्रयोगमा ल्याइने तयारी गरिएको अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार विसं २०५७ मा १ सय शैय्याबाट शुरु गरिएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि पटक पटक गरी ९४ शैय्या थपिएको हो ।

अस्पतालको चारतले नयाँ भवन निर्माण हेर्दै आएका रमेश पाण्डेका अनुसार सो भवन १ लाख ३० हजार स्क्वायर फिटको छ । विसं २०६९ मा निर्माण थालिएको सो भवन झण्डै ७० करोड रुपैयाँको लागतमा निर्माण गरिएको थियो । भवनमा सघन उपचार कक्ष, पोष्टअपरेटिभ कक्ष, मोडुलर शल्यक्रिया कक्ष, क्याबिन, चिकित्सक छलफल कक्ष, सभाहलसँगै जनरल वार्ड पनि रहेको अस्पतालले जानकारी दिएको छ ।

सो भवनको भुईतलामा २ हजार २ सय स्क्वायर फिटको खाली ठाउँसमेत छ । भवनसँगै रेडियोथेरापी बंकर पनि निर्माण गरिएको पाण्डेले बताए । अस्पतालमा शैय्याको अभावमा बिरामी भर्ना गर्न कठिन हुँदै आएको थियो । अत्याधुनिक तवरको ठूलो एउटै भवन बनेपछि अस्पतालमा सञ्चालनमा रहेका ९ वटै विभागका आवश्यकअनुसार शैय्या विस्तार हुने भएका छन् । कार्यकारी निर्देशक आचार्यका अनुसार सबैभन्दा बढी मेडिसिन वार्डमा बिरामीको चाप बढी हुने गर्छ ।

केमो चढाउने बिरामीलाई सो वार्डमा राखिने भएकाले त्यहाँ बिरामीको चाप हुने गरेको हो । हाल अस्पतालमा बिरामीले भर्ना भएर उपचारका लागि पालो कुर्नुपर्ने अवस्था रहेको छ ।

चीन सरकारको सहयोगमा २०५७ सालमा स्थापना भएको उक्त अस्पतालमा वार्षिक १ लाख ३० हजार हाराहारीले सेवा लिँदै आएका छन् । जसमध्ये ८ हजारभन्दा बढी क्यान्सरका रोगी छन् । नेपालका सबै जिल्ला र भारतीय सीमा क्षेत्रबाट पनि बिरामी यहाँ उपचारका लागि आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्