काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चोरीको आरोपमा हिमालय अर्गानिक होटललाई ३ लाख ३० हजार २ सय २४ रुपैया जरिवाना तिराएको छ ।
पत्रकार कमलमणी दिक्षीतद्धारा संचालित उक्त होटलले हुकिङ गरि विद्युत चोरी गरेको आरोपमा प्राधिकरणले पक्राउ गरेको थियो ।
होटलले जरिवाना तिरेसंगै थ्री फेज लाईनको लागि आवेदन पनि दिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । यसअघि होटलले २०६४ सालमा गार्हस्र्थतर्फका ग्राहकले प्रयोग गर्ने सिंगल फेजको मिटर जडान गरेको थियो ।
सुरक्षाकर्मीसहित आइतबार खटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले होटलले प्राधिकरणको वितरण प्रणालीबाट डाइरेक्ट हुकिङ गरी बिजुली प्रयोग गरेको फेला पारेको थीयो । टोलीले होटलको सुरक्षागार्ड र त्यहाँ प्रयोगमा रहेका विद्युतीय उपकरण नियन्त्रणमा लिएको थीयो ।
कम क्षमताको लोड लिएर चोरीमार्फत धेरै विद्युत खपत गर्ने विद्युतीय उपकरण प्रयोग गरिरहेको टोलीले फेला पारेको हो ।
गृह मन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन, लगायतको केही अघिको बैठकले विद्युत चोरी नियन्त्रणलाई परिणाममूखीरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।
सोहि आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्तरुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम गरिरहेको प्राधिकरणले जानकारी दिएको छ ।