Logo

लागु औषध र अवैध औषधि बेच्ने २ फार्मेसीमा शिलबन्दी, ५ जना पक्राउ

लागु औषध र अवैध औषधि बेच्ने २ फार्मेसीमा शिलबन्दी, ५ जना पक्राउ



काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा लिइने विभिन्न नामका औषधिहरु अवैध रुपमा बिक्री गर्ने दुई फार्मेसी (औषधि पसल) शिलबन्दी गर्दै सञ्चालकसहित प्रयोग कर्तालाई पक्राउ गरेको छ ।

चिकित्सकको अनुमति (प्रेस्क्रिप्सन) नभई बिक्री गर्न नपाइने औषधिहरु लागु औषधका रुपमा प्रयोग गर्ने युवाहरुलाई बिक्री गरेको भन्दै फार्मेसी सञ्चालक र खरिदकर्तासहित पाँच जनालाई बिहिबार साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले बताए ।

औषधि व्यवस्था विभागका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले सूर्य्विनायक नगरपालिका वडा नं ५ सल्लाघारीमा अरनी हाइवे पोलिक्लिनिक प्रालि र सोही ठाउँमा रहेको अर्विषा फार्मेसीमा शिलबन्दी गरेको हो ।

साथै अरनी हाइवे पोलिक्लिनिक प्रालिकी सञ्चालिका दोलखा तामाकोसी गाँउपालिका वडा नं ३ घरभएकी सृजना घिमिरे र अर्विषा फार्मेसी सञ्चालन गर्ने कैलाली जिल्ला टीकापुर–२ का विक्रम खड्कालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी औषधि खरिद गर्ने मध्यपुरथिमि–९ निकोसेरा बस्ने वर्ष २० का किरण कासुला, सूर्य्विनायक–२ बालकोट बस्ने वर्ष २३ का रुपक खत्री र काभ्रेपलाञ्चोक काशीखण्ड नगरपालिका–२ बस्ने वर्ष २० का विकास लामालाई पक्राउ गरिएको छ ।

प्रहरीले अर्विफा फार्मेसीबाट ट्रफा ५० एमजी नामक औषधि १ हजार ८ सय क्याप्सुल र अरनी हाइवे पोलिक्लिनिकबाट ट्रमा ५० एमजी ९० क्याप्सुल, कोड टेबल १५ एमजी १ सय ३७ ट्याब्लेट, क्लोजिप ० दशमलव ५ एमजी १ सय २० ट्याब्लेटसमेत बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै उनले पक्राउ परेकाले आज लागु औषध ऐनअन्तर्गत मुद्दा चलाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्