Logo

संचारमन्त्री विरुद्ध पत्रकार महासंघको विज्ञप्ती, प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरेको आरोप

संचारमन्त्री विरुद्ध पत्रकार महासंघको विज्ञप्ती, प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरेको आरोप



काठमाडौं । नेपाल टेलिभजनबाट प्रसारण भई रहेको ‘सिधा प्रश्न’ कार्यक्रम बन्द गराइएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

कार्यक्रमका प्रस्तोता राजु थापाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग सम्पत्ती विवरणका सम्बन्धमा प्रश्न सोधेपछि मन्त्रीकै प्रत्यक्ष निर्देशनमा बन्द गराएको भन्दै महासंघका महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

प्रश्न सोधेकै आधारमा कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगत १२ बर्ष देखी प्रशारण हुँदै आएको कार्यक्रम बन्द गराउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहास भएको विज्ञप्तीमा उल्लेख छ ।

लोकतन्त्रमा प्रश्न सोध्ने र आफ्नो कुरा राख्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै महासंघले सूचना प्रविधि मन्त्रीबाटै प्रेसलाई हतोत्साहित बनाउने कार्य भएकाले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर र प्रतिबद्ध नरहेको जनाएको छ ।

साथै तत्काल कार्यक्रम सुचारु गर्न र प्रेस जगतको सम्मान गर्न सम्वन्धित निकायको ध्यानकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL