काठमाडौं । नेपालबाट पहिलो पटक छानिएको ‘कम्युनिटी होमस्टे’ले २ लाख २५ हजार यूरो सहयोग प्राप्त गरेको छ ।
नेपालमा संचालित ‘कम्युनिटी होमस्टे नेटवर्क’ लाई इलोक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनीले २ लाख २५ हजार युरो अनुदान सहयोग गरेको हो ।
कम्पनीलाई बुकिङ बूस्टर कार्यक्रममार्फत विश्व समुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीहरु मध्ये उत्कृष्ट १० को सूचीमा राख्दै यूरो २ लाख २५ हजार यूरो अर्थात करिब सवा ३ करोड नेपाली रुपैयाँ अनुदान प्रदान गरेको हो ।
होमस्टे नेटवर्क नेपालमा रहेका कम्युनिटी होमस्टहेरुको संजाल हो । जसले पर्यटकहरुलाई नेपाली समुदायको संस्कृति, रहनसहन, भेषभूषालगायत विविध स्थानीय पक्षहरुको वास्तविक अनुभव प्रदान गर्ने गर्दछ ।
होमस्टले स्थानीयहरुलाई पर्यटन सेवामा आबद्ध गराइ लाभान्वित गराउनुका साथै विभिन्न १३ वटा समुदायहरुमा महिला सशक्तिकरणमा समेत सहयोग पुर्याउँदै आईरहेको छ ।
ई–कमर्स कम्पनी– बुकिङ डट्कम द्धारा संचालित ‘द बुकिङ बूस्टर’ मार्फत ३ हप्ते क्षमता अभिवृद्धि र सदस्यता अभिमुखीकरण तथा सशक्तिकरण कार्यक्रम हो । जसले विश्वभरीबाट चयन भएका प्रत्येक कम्पनीहरुलाई यूरो ५० हजार रुपैयाँ बराबरको अनुदान सहयोग प्राप्त गर्ने अवसर प्रदान गर्दछ ।
गत मे १५ देखि ३१, २०१८ सम्म नेदरल्याण्डको एम्स्ट्र्डममा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट ‘कम्युनिटी होमस्टे नेटवर्क’ का संस्थापक शिवप्रसाद ढकालले सहभागिता जनाएका थिए ।
डट्कमले स्थानीय समुदायहरुको स्तरोन्नती र समृद्धिका लागि क्रियाशील रहेका विश्व समुदायबाट आमन्त्रित १० कम्पनीरुलाई करीब २० लाख रुपैयाँ यूरो अनुदान सहयोग गरेको थियो ।