Logo

मन्त्रालय मातहतका १० विभाग घटे, कुन विभाग कहाँ गाभिए हेर्नुहोस

मन्त्रालय मातहतका १० विभाग घटे, कुन विभाग कहाँ गाभिए हेर्नुहोस


रासस
135
Shares

काठमाडौं । संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतका १० ओटा मन्त्रालय घटेका छन । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब १० ओटा विभाग घटेर ५४ वटामात्र हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका १० वटा विभागलाई गाँभेर ५४ वटा मात्र विभाग बनाइएको हो ।

मन्त्रालयका सहसचिव समेत रहेका प्रवक्ता अधिकारीले एउटै प्रकृति र संघमा कार्यबोझ कम भएका विभागलाई गाँभिएको बताए । काम, अधिकारअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ती विभागको टुंगो लगाइएको हो ।

मन्त्रालयका उपसचिव सालिक दाहालका अनुसार घरेलु तथा साना उद्योगलाई उद्योग विभागमा, आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागलाई वाणिज्य विभागमा, जल उत्पन्न प्रकोप विभागलाई सिँचाइ विभागमा, भू–सूचना तथा अभिलेख विभागलाई भूमि व्यवस्थापन विभागमा, यान्त्रिक तालीम केन्द्रलाई सडक विभागमा, भू तथा जलाधार संरक्षण विभागलाई वन विभागमा गाँभिने भएका छन् ।

यसैगरी प्रहरी किताबखाना र विद्यालय–शिक्षक किताबखानालाई निजामति किताबखानामा, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रसहित तीन विभागलाई गाँभेर राष्ट्रिय शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइने भएको छ ।

मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले मन्त्रालयको काम र प्रकृति हेरेर ती विभागको टुंगो लगाएको हो । समितिले गत फागुन २८ गतेदेखि काम गरेको थियो ।

यसरी नयाँ बनाइएका विभागको स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने र सो बैठकले स्वीकृत गरेपछि मात्र लागू हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्