काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रबाट पनि लोडडसेडिङ अन्त्य भएका घोषणा गरेको छ । हाल औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टासम्मको लोडसेडिङ हुँदै आएकोमा सोमबारदेखि पूर्ण रुपमा अन्त्य भएको घोषणा गरेको हो ।
चैत्रमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुरुप औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको बृद्धि,अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं,’ उनले भने, ‘अब मुलुक पूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’ अहिले औद्योगिक ग्राहकको माग ३ सय मेगावाटको हाराहारीमा रहेको समेत घिसिङले जानकारी दिए ।
प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणकारुपमा काठडमाडौं उपत्ययका लगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवै विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन समेत आग्रह गरेका छन् । ‘बिहान र बेलुकाको पिक सयममा अधिकतम विद्युत खपत हुने विद्युतीय उपकरण प्रयोग नगर्न र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने (ऊर्जा दक्षता)उपकरण प्रयोग गरी ऊर्जा बचतमा सदाझै सहयोग गर्न उपभोक्तालाई आग्रह गर्दछु,’ उनले भने ।