Logo

यातायात व्यवसायीको बन्द फिर्ता, पक्राउ परेका ब्यवसायी नछोडे अन्य कार्यक्रम सार्वजनिक गर्ने

यातायात व्यवसायीको बन्द फिर्ता, पक्राउ परेका ब्यवसायी नछोडे अन्य कार्यक्रम सार्वजनिक गर्ने


रासस
270
Shares

काठमाडौं । सार्वजनिक यातायात अनिवार्य रुपमा कम्पनीमा लैजान सरकारले गरेको निर्णयका विरुद्ध आन्दोलनरत यातायात व्यवसायीले बन्द फिर्ता लिइ सवारी चलाएका छन ।

यातायातमा एकाधिकार (सिन्डिकेट) लगाउन पाउनुपर्छ, संघसंस्था ऐन २०३४ अनुसार सामाजिक संस्थाकारुपमा दर्ता गरेर व्यापार गर्न पाउनु पर्ने लगायत माग राखेर यातायात व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेका थिए ।

अत्यावश्यक सेवा बन्द गरेपछि सरकारले शुक्रबार नै कडा कारबाहीको निर्णय गरेको थियो । उपत्यकाका केही रुटमा चल्ने माइक्रोको ‘रुट परमिट’ यातायात व्यवस्था विभागले शुक्रबार नै खारेज गरेको थियो ।

विभागका प्रवक्ता तुलसीराम अर्यालका अनुसार व्यवसायीले बुझाएको ज्ञापनपत्रमा शुक्रबारदेखि लगातार बन्द गर्ने उल्लेख गरेको बताएका छन । विभाग भने यातायात क्षेत्रका कानून कार्यान्वयनमा लागेको उनले बताए । आम मानिस यातायात एकाधिकार (सिन्डिकेट) का विरुद्धमा भएको जनमत बुझेपछि व्यवसायीले आजदेखि बन्द फिर्ता लिई सवारी चलाएका हुन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले शुक्रबार एक दिनमात्र सार्वजनिक सवारी थन्क्याएको दाबी गरेका छन ।‘हामीले एक दिन यातायात थन्क्याउँदा अत्यावश्यक ऐनका नाममा घरघरबाट पक्राउ गरियो, राजनीतिक दलले यातायात बन्द गर्दा अत्यावश्यक ऐन लागू हुन्छ ? घरघरबाट ७३ जना यातायात व्यवसायी पक्राउ परेका छन, आजसम्म नछोडे बैठक बसेर अन्य कार्यक्रम सार्वजनिक गर्छौं उनले भने ।

शुक्रबार यातायात बन्द हुँदा लाखौँ यात्रुहरु हिँड्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्