काठमाडौं । एसओएस बालग्रामले काभ्रेको एक विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरेको छ । संस्थाले पनौती नगरपालिका १ स्थित शान्ति निकेतन माविलार्ई ४ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण भएको सो भवन हस्तान्तरण गरेको हो ।
वि.सं. २०७२ सालको शक्तिशाली भूकम्पबाट विद्यालय भवन क्षतिग्रस्त भएपछि संस्थाले सो भवन विद्यालयकै हाताभित्र निर्माण गरिरहेको थियो ।
एसओएस इन्टरनेशनलका अध्यक्ष सिद्धार्थ कौल तथा जर्मन एसओएसका अध्यक्ष फोवार्डले विद्यालयका अध्यक्ष रामचन्द्र सापकोटा र प्रिन्सिपल रामचन्द्र केसीलाई सो भवनको साँचो हस्तान्तरण गरेका हुन ।
ग्रामीण क्षेत्रका बालबालिकाहरुलाई शिक्षा र चेतनाको पहुँच विस्तार गर्ने लक्ष्यअनुसार विद्यालय भवन निर्माणमा सहयोग गरिएको संस्थाका सल्लाहकार शंकर प्रधानाङ्गले बताए ।
आइतबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १२ स्थित भीमटारमा १ सय ७७ वटा नयाँ घर, एउटा सामुदायिक भवन र एउटा विद्यालय राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत हस्तान्तरण गरिएको थियो ।