Logo

कोलकाताबाट छुटेको रेल बथनाहा आइपुग्यो, विशाखापट्टनमबाट पनि आयात–निर्यात गर्न पाउनुपर्ने

कोलकाताबाट छुटेको रेल बथनाहा आइपुग्यो, विशाखापट्टनमबाट पनि आयात–निर्यात गर्न पाउनुपर्ने



काठमाडौं । तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको बथनाहा आइपुगेको छ ।

गत बुधबार प्रस्थान गरेको सो मालबाहक रेल नेपालको सिमानादेखि ७ किलोमिटर दक्षिण बथनाहासम्म ५८ कन्टेनर बोकेर आइपुगेको हो । बथनाहामा कार्गो सञ्चालनका लागि ठूलो यार्ड भएकाले बथनाहासम्म ल्याएकोे भारतीय पक्षले जनाएको छ ।

कोलकाता बन्दरगाहमात्र नभई विशाखापट्टनमबाट पनि नेपाली व्यापारीले आयात–निर्यात गर्न पाउनुपर्ने माग विज्ञप्ति छ । उक्त संगठनका अध्यक्ष मुकेश उपाध्यायले रेलमार्फत सामान तथा कच्चा पदार्थ ढुवानी हुँदा लागत कम पर्ने, झण्झट नहुने र समय पनि कम लाग्ने बताएका छन । विराटनगर महानगरपालिकाको कटहरीसम्म रेल विस्तार भएपछि लागत प्रतिकिलो २ रुपैंया कम लाग्ने छ र अहिले बथनाहासम्म अनुमानित प्रतिकिलो १ रुपैंया लाग्ने उनले बताएका छन ।

नेपाल–भारत सरकारले सन २०१० मा विभिन्न पाँच स्थानमा रेलसेवा विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सो समझदारीमा रेलसेवाको विस्तारमा सम्पूर्ण खर्च भारत सरकारले र नेपालीको भूमिको मुआब्जा नेपाल सरकारले व्यहोर्ने उल्लेख थियो ।

सीमावर्ती क्षेत्रदेखि नेपालको भूभागको पाँच किलोमिटर क्षेत्रभित्र रेलसेवाको विस्तार हुनेछ । सो अनुरुप विराटनगर महानगरपालिकाको कटहरीसम्म रेलसेवाको विस्तारका लागि काम शुरु भए पनि जग्गाको मुआब्जाको विवाद अदालतमा पुगेकाले सो मुद्दाको फैसला नभएकाले काम रोकिएको हो ।

मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सारपोष्ट पूर्णरुपमा तयार भएपछि मालबाहक रेल नेपालको भूमिमा प्रवेश गर्नेछ । त्यसपछि सामान आयात निर्यात थप सहज हुने व्यवसायी बताउँछन ।

प्रतिक्रिया दिनुहोस्