Logo

महले घरका सबै भाँडा भरिए, बेच्ने ठाउँ नभएपछि ९० क्विन्टल मह अलपत्र

महले घरका सबै भाँडा भरिए, बेच्ने ठाउँ नभएपछि ९० क्विन्टल मह अलपत्र



काठमाडौं । उत्पादन भएको महले बजार नपाए पछि मोरङका किसान चिन्तत भएका छन । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान बजारको खाजीमा रहेका छन । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेको थियो । तर, उत्पादन बढे पनि बिक्रीका लागि बजार नभएपछि उनीहरु निराश भएका छन् ।

स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसानले घरमै मह भण्डारण गर्न थालेका छन् । महले बजार नपाए पछि बजार खोज्न थालिएको मेलीफेरा मौरीपालन सहकारी संस्थाका अध्यक्ष बोधराज बताउँछन् । उर्लाबारी क्षेत्रमा मात्र यो मौसममा करिब ९० क्विन्टल मह उत्पादन भएको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिए ।

किसान रमेश खड्काका अनुसार तोरी फुल्ने मौसममाभन्दा जंगली बिरुवा फुल्ने मौसममा मह बढी उत्पादन हुनेछ । ‘ घरमा धान भण्डारण गरे जसरी नै मह राखेका छौं,’ उनले भने, ‘मह यति धेरै उत्पादन भयो कि किनेर ल्याएका सबै भाडा भरिएर घरका जग, अंखोरामा पनि मह राख्नुपर्ने अवस्था छ ।’

खड्काले यो वर्षमा मात्र २५ घार बाट ६ क्विन्टल मह उत्पादन गरेकोमा ४ क्विन्टल बिक्री गरि बाँकी मह मौरीलाई नै खुवाएको बताएका छन ।
एक पटकमा १ घारबाट १० किलोसम्म मह उत्पादन हुने खतिवडाको भनाइ छ । अर्का किसान भोला पोख्रेलको १३ घारबाट ११४ किलो, हरि विष्टको १६ घारबाट १०८ किलो र नवीन कार्कीको १० घारबाट ८० किलो मह दुईदिन अघि मात्र काढिएको हो ।

मौरीपालन विकास शाखा, गोदावरीका प्राविधिक सहायक सुवास खनालको प्रत्यक्ष निगरानीमा मह काढेका किसानले डाबर र पतञ्जलीको महको प्रयोगलाई घटाउन सरकारी स्तरबाट जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन ।

प्राविधिक सहायक खनालका अनुसार महलाई आगोमा पकाउनु हुँदैन, तर बहुराष्ट्रिय कम्पनीको मह ८० डिग्री तापक्रममा उमालेको हुन्छ । त्यसैले, सबै फूलबाट प्राप्त मह एकै रङको हुने हुन्छ । हरेक वनस्पतिअनुसार महको पनि फरक स्वाद र रङ हुने हुनाले स्वदेशी महको प्रयोग उपयोगी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL