Logo

उर्जा मन्त्रीको उद्घोष, ‘अब विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बीमा’

उर्जा मन्त्रीको उद्घोष, ‘अब विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बीमा’



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनिकरण गर्न तेस्रो पक्ष बीमा गर्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालको विद्युतीय सुरक्षा दिवसका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सोमबार राजधानीमा सम्पन्न कार्यक्रममा मन्त्री पुनले विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बीमा लागू गर्न अगाडि बढ्नु पर्ने जानकारी दिए । ‘अब यातायात क्षेत्रमा जस्तै विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बीमा लागू गर्न सकिए वित्तीय जोखिम न्यूनिकरण गर्ने उपयुक्त विकल्प हुनसक्छ,’ उनले भने ।

प्राधिकरणका अनुसार २०६८ को असारबाट हालसम्म ७ सय ५२ विद्युतीय दुर्घटना भएका छन । यसका साथै विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति वापत १२ करोड २० लाख रुपैयाँ खर्च भएको छ । सुरक्षा सम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म भएका दुर्घटनामा ५० प्रतिशतभन्दा बढी प्राधिकरणकै कर्मचारी पर्ने गरेका छन् ।

यससाथै प्राधिकरणका अनुसार हावाहुरी, चट्याङ जस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जीर्ण बितरण प्रणाली, धेरै लामो तारमार्फत विद्युतीकरण,घरायसी प्रयोजनका लागि कमसल विद्युतीय उपकरणको प्रयोग, हुकिङबाट विद्युत चोरी, जनचेतनाको अभावआदि कारणले विद्युतीय दुर्घटना हुने गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री पुनले विकसित नविनतम् तथा गुणस्तरीय प्रविधिको प्रयोगमार्फत सुरक्षित विद्युत प्रयोग गर्नेतर्फ सबै सचेत हुनु पर्ने बताए । कार्यक्रममा उर्जासचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL