Logo

यातायात सिण्डिकेट तोड्दै ठूला सवारीसाधन, एसियाली विकास बैंकको सहयोगमा ५० सीटे १७ बस सञ्चालन

यातायात सिण्डिकेट तोड्दै ठूला सवारीसाधन, एसियाली विकास बैंकको सहयोगमा ५० सीटे १७ बस सञ्चालन



काठमाडौं । दिगो सार्वजनिक यातायात प्रालिले काठमाडौंमा ठूला बस संचालनमा ल्याउने भएको छ । सरकारले यातायात क्षत्रेको सिण्डिकेट तोड्दै सबै क्षेत्रमा रुट परमिट खुला गरेसँगै यातायात व्यवसायीहरुले नयाँ बस थप लागेका हुन् ।

दिगो सार्वजनिक यातायातले नयाँ बसपार्कदेखि सिनामंगलसम्म १७ वटा ठूला बस संचालन गर्न लागेका हुन् । कम्पनीले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म १७ नयाँ बस सञ्चालन गर्न लागेको हो ।

कम्पनीले ७ करोड रुपैयाँको लगानीको ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागेको हो । सो समितिले सामाखुशी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेको हो ।

सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले १ करोड ९० लाख अनुदान दिएको छ । बस वैशाखको अन्तिम हप्ता नेपाल आइसक्ने र जेठको पहिलो हप्ताबाट सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । नयाँ बस सञ्चालनका लागि दुवै समिति तथा प्रालिको टोली बस ल्याउनका लागि भारत गइसकेको छ ।

सोही रुटमा ठूला बस सञ्चालन भएसँगै गोँगबुबाट रत्नापार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल रत्नापार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् । सरकारले पछिल्लो समय उपत्यकामा सवारी साधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी रुट निर्धारण गरेको छ । जसमा प्राइमरी र सेकेण्डरी रुटमा ठूला सवारी साधन तथा टर्सरी रुटमा साना सवारी साधन सञ्चालन गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL