Logo

भारतीय लगानीकर्तालाइ नेपालमा लगानी गर्न प्रमको आग्रह, भारतीयको चासो जलविद्युतमा

भारतीय लगानीकर्तालाइ नेपालमा लगानी गर्न प्रमको आग्रह, भारतीयको चासो जलविद्युतमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सक्दो लगानी गर्न भारतीय लगानीकर्तालाइ आह्वान गरेका छन । उनले नेपालमा अव स्थाइ राजनितिक तथा लगानि प्रवद्र्धनमा जोड दिएको बताउदै लगानीका बाटाहरु खुलेको जानकारी दिए ।

इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको जानकारी दिए ।
नेपालको प्रमुख कार्यसूची सुखी नेपाली, समृद्ध नेपालमात्रै रहेको उल्लेख गर्दै उनले नेपाललाई विकासोन्मुख देशमा लैजान आफू प्रयत्नशील रहेको बताए ।

अहिले प्रतिनिधिसभाको तीन चौथाई मत प्राप्त सरकार गठन भएको, कानूनको परिपालना गराउन कुनै बाधा व्यवधान नभएको, इतिहासकै बलियो सरकार निर्माण भएकाले पनि लगानीको थप अवसर सिर्जना भएको उनकोे भनाइ थियो ।
भारतीय लगानीकर्ता संसारभर नै लगानीका लागि गएको भन्दै नेपालमा पनि खुला हृदयका साथ आउन उनले आग्रह गरेका हुन ।

सरकारले नयाँ उद्योग स्थापनाका लागि विशेष आर्थिक क्षेत्र स्थापना गरेको, उद्योग, व्यवसायमैत्री औद्योगिक नीति ल्याएको, श्रम समस्या नरहेको, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गरेको जानकारी दिँदै सरकार सबै प्रकारको लगानीलाई स्वागत गर्न तयार भएको बताए ।

सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै पनि विभेद नगरेको, समान सुविधा दिएको, वीरगञ्जमा एकीकृत जाँचचौकी स्थापना गरी सहज भन्सार सुविधा दिन थालिएको र त्यस्तो चौकी अन्य तीन स्थानमा पनि स्थापना हुने क्रममा रहेको स्पष्ट पारेका थिए ।

नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता गरिएको, ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको, अर्को प्रसारण लाइन निर्माणको प्रारम्भ भएको, माथिल्लो कर्णाली, अरुण तेस्रो आयोजना निर्माण हुन लागेकाले ऊर्जा क्षेत्रमा लगानीको महत्वपूर्ण अवसर रहेको भन्दै भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरेका छन ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव माधव बेल्वासेले ऊर्जा क्षेत्रको एकीकृत विकासका लागि सरकारले २०७२ फागुन ६ गते नै ९९ बुँदे ऊर्जा संकटकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको र निजी क्षेत्रलाई थप सहज गराइएको जानकारी दिए ।
सहसचिव बेल्वासेले नेपालमा महत्वपूर्ण आयोजना निर्माणको क्रममा रहेको र भारतसमेत नेपालको बजार हुनसक्ने भएकाले त्यही आधारमा लगानी गर्न आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गरेको, राजनीतिक रुपमा समेत सहज वातावरण बनेको भन्दै वैदेशिक लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराएकी थिइन ।
सिएनआइका अध्यक्ष हरिभक्त शर्माले नेपाल लगानीका लागि एकदमै उपयुक्त भएकाले जुनसुकै क्षेत्रमा पनि नाफा कमाउन सकिने भएकाले लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरे ।
यसका साथै कार्यक्रममा बोल्दै हिन्दुस्तान पावर लिमिटेडका रतुल पुरीले नेपाल र भारतका उद्योगी तथा व्यवसायी मिलेर ऊर्जाको क्षेत्रमा धेरै काम गर्न सकिने स्पष्ट पारे । यसका साथै भारतका विभिन्न उर्जा कम्पनीहरुले नेपालमा जलविद्युतको क्षेत्रमा लगानी गर्न प्रति चासो देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्