काठमाडौं । यातायात व्यवस्था विभागले ८ ओटा यातायात व्यबसायी कम्पनीलाई काठमाडौं–बनेपाको रुट इजाजत दिएको छ । विभागले सिण्डिकेट विरुद्ध आक्रामक हुँदै नयाँ यातायात व्यवसायीलाई रुट इजाजत प्रदान गर्दै तथा आन्दोलन गर्ने यातायात व्यवसायीको रुट इजाज खारेज प्रक्रिया अघि बढाएको हो ।
विभागले आजै सिण्डिकेटका विरुद्ध साझा, सिटी, महानगर, मेट्रो, सीवनगर, मयुर लगायतका यातायात कम्पनीलाई रुट इजाजत दिइएको यातायात व्यबस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए । ‘यातायात व्यबसायीले गरेको मयुर यातायातको रुट इजाजत विरुद्ध आन्दोलनले त्यस क्षेत्रका यात्रुलाइ सास्ती नहोस भन्ने उद्देश्य सहित आजलाई ८ वटा कम्पनीलाई अस्थाई रुट इजाज दिएका छौं,’ उनले भने, ‘यदि उनीहरुले कानुनी प्रक्रिया पुरा गरेर आएमा स्थायी रुट इजाजत नै दिनेछौं ।’ साथै बस व्यवसायीले सो रुटको इजाजत लिनको लागि पञ्जीकरण गरेको, कम्पनीमा दर्ता भएको, राजस्व तिरेको लगायतका सर्त पुरा गरेको हुनुपर्नेछ । सिण्डिकेटका विरुद्ध आफुहरु जस्तोसुकै कमद चाल्न पनि पछि नहट्ने समेत उनले जानकारी दिए ।
अन्य यातायात व्यवसायीले कोटेश्वर–बनेपा–धुलीखेलसम्म चल्ने गरी मयुर यातायातलाई विभागले रुट इजाजत दिएको भन्दै सो क्षेत्र तथा नेपाल भर नै यातायात चल्न नदिने चेतावनी दिँदै आएका थिए । तर, विभागले त्यस्ता सवारीसाधनको रुट खारेज गरिदिने चेतावनी दिएपनि उनीहरुले कोटेश्वरदेखि धुलिखेल रुटमा मात्र आफ्नो सवारीसाधन चलाउन बन्द गरेर बसेका छन् ।
‘हालसम्म भएको छलफल अनुसार आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरु पनि सहमतिमा आउनेछन्,’ उनले भने, ‘यदि सहमतिमा नआई आफ्ना सवारीसाधन थन्क्याएर बसेभने त्यस्ता सवारीको रुट इजाज नै खारेज गरिनेछ ।’ साथै आवश्यकताको आधारमा नयाँ रुपटमा पनि इजाजत लिन आएमा अन्य नयाँ कम्पनीलाई पनि दिईने विभागले जानकारी दिएको छ ।