Logo

महासंघ नेतृत्वलाई आरोप लगाउँदै महासचिव सुरेशमान श्रेष्ठले दिए राजीनामा, भन्छन् ‘अध्यक्षसँग कर्पोरेट कल्चर नै छैन’

महासंघ नेतृत्वलाई आरोप लगाउँदै महासचिव सुरेशमान श्रेष्ठले दिए राजीनामा, भन्छन् ‘अध्यक्षसँग कर्पोरेट कल्चर नै छैन’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महासचिव सुरेशमान श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले महासंघको वर्तमान नेतृत्वमाथि गम्भिर आरोप लगाउँदै आफ्नो पदबाट राजीनामा दिएका हुन्।

आफुले चैत ४ गतेबाट कार्यान्वयन हुने गरी राजीनामा पेश गरेको जानकारी दिए । महासंघको नेतृत्व ठिक नभएको र चरम लापरवाही तथा सोही अनुरुप विसंगती बढ्दै गएकाले आफुले राजीनामा दिएको उनको भनाई थियो । ‘म महासंघमा जागिर खानका लागि गएको होइन, नेपाल सरकारको सचिव भइसकेको हैसियतले निजी क्षेत्रलाई सुधार गर्नका लागि सल्लाह र सुझाव दिन गएको हुँ,’ बिजखबरसँग कुरा गर्दै उनले भने, ‘तर, महासंघका अध्यक्ष भवानी राणा कामभन्दा पनि पत्रपत्रिकामा आउन तथा ग्लामरमा रमाउने चाहने भएकाले राजीनामा दिएको हुँ ।’ साथै अध्यक्ष राणसँग कर्पोरेट कल्चर के हो संस्था कसरी चालउनुपर्छ भन्ने समेत ज्ञान पनि नभएको उनको आरोप थियो ।

श्रेष्ठलाई महासंघले गत जेठ ७ गते ३ बर्षका लागि नियुक्ती गरिएको थियो । तर, आफु र आफुमातहतका कर्मचारीसँग महासंघकी अध्यक्ष राणाले कुनै पनि सल्लाह तथा सुधारका काम गर्न नखोजेको भन्दै उनले पदबाट राजीनामा दिएको बताए । साथै व्यवसायीहरु अर्बपति भएपनि संस्था भने एकदमै नाजुक अवस्थामा पुगको उनको आरोप थियो । साथै नेतृत्वले महासंघको यही चैत २८ गते हुने बार्षिक साधारणसभासम्म बस्न आग्रह गरेपनि पछिल्लो समय संस्थाको अवस्था एकदमै दयनीय बन्दै गएकाले तत्कालै छाडेको उनको भनाइ थियो । ‘मैले चैत ४ गतेबाटै लागू हुनेगरी राजीनामा दिएको छ,’ उनले भने। ‘सर्तनामा अनुसार तत्कालै वा २ महिनापछि राजीनामा स्वीकृति गरेपनि हुन्छ तर म चाहिँ ४ गतेबाटै लागू हुनेगरी महासंघ जान छाडे ।’

उनले महासंघको आर्थिक कारोबार र खर्चको पुनरावलोकन गर्ने सम्वन्धमा संस्था गम्भिर नभएको आरोप समेत लगाएका छन ्। श्रेष्ठले महासंघ राजनीतिक गुटबन्दीले गम्भिर संकटमा परेको उल्लेख गर्दै पदाधिकारी समितिमा धेरैजसो सदस्य आगामी नेतृत्व लिन आफू बलियो बन्ने आत्मकेन्द्रित राजनीतिमा लागेको आरोप लगाएका छन् । साथै महासंघको विधान र कार्यशैली समेत फरक रहेको उनको भनाई थियो । महासंघ सुधारका लागि आफुले अध्यक्षलगायत पदाधिकारीसँग पटक–पटक छलफल गरेपनि एक पटकपनि राम्रोसँग बैंठक समेत नबसेको उनको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL