Logo

नदीनाला दोहनमा सरकारको कडाई, दोलखाका क्रसर उद्योग बन्द

नदीनाला दोहनमा सरकारको कडाई, दोलखाका क्रसर उद्योग बन्द



काठमाडौं । दोलखाको तामाकोशी नदीमा अवैध रुपमा सञ्चालन हुदै आएको क्रसर उद्योगहरु बन्द भएको छ ।

तामाकोशी नदीमा अवैध रुपमा सञ्चालन हुँदै आएको क्रसरलाई बन्द गर्न प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई निर्देशन दिएको सहायक पमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले बताए ।

दोलखामा २ ओटा क्रसर उद्योगले अनुमति प्राप्त गरी उद्योग सञ्चालन गरे पनि अन्यले भने विना दर्ता चलाएकोले बन्द गर्नु परेको कटुवालले बताए । कटुवालका अनुसार अवैध क्रसरलाई बन्द गर्न प्रहरी र घरेलु उद्योग महासंघलाई लिखित निर्देशन दिएको जानकारी दिएको छ । तर डिएसपी रामेश्वर कार्कीले भने प्रमुख जिल्ला अधिकारीसँग मौखिक कुरा भएको हाल बन्द गरिसकेको उनको भनाई थियो । कार्कीका अनुसार दोलखामा कुनै पनि क्रसर उद्योग दर्ता नभएको पाईएको छ । ढोलीखोला र गोपीखोलामा सञ्चालन भएको २ ओटा क्रसर अहिले बन्द भइसकेको कार्कीले बताए । साथै अन्य दुई क्रसर उद्योग पनि बन्द भएको बताएको छ ।

पुननिर्माणको काम सुरु भए पछि तामाकोशी नदी आसपासमा गिटी वालुवा उत्खनन गर्न थुप्रै मेसिनहरु छिरेका थिए । पुनर्निर्माणका कारण निर्माण सामग्रीको अभावको कारण देखाउँदै अबैध रुपमा मेसिन लानेको संख्या दिनानुदिन बढदै गएको हो ।

तामाकोशी नदिमा दिनहुँ मेसिन भित्रन थालेपछि स्थानीयले पनि १७ लाख ५० हजारको कोष खडा गरी दैनिक ५ हजार तिरी डोजर भाडामा लिएर उद्योग सञ्चालन गरे । पछि अन्य क्रसर उद्योगीले स्थानीयलाई क्रसर सञ्चालन गर्न नदिए पछि विबाद भएको थियोे । प्रहरी र अन्य क्रसर उद्योगीहरु मिलेर आफुहरुलाई उद्योग सञ्चालन गर्न नदिए पछि विवादले उग्र रुप लिएको लालबहादुर माझीले बताए ।

विबादले उग्र रुप लिएपछि सत्य तथ्य बुझन र अवैध क्रसरलाई बन्द गर्न जिल्ला प्रमुख अधिकारीले लिखित रुपमै निर्देशन दिएको सप्रजिअ कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL