Logo

वीरगञ्ज भन्सारको व्यापार घाटा साढे २ खर्ब पुग्यो, निर्यात ८ अर्बमै सिमित

वीरगञ्ज भन्सारको व्यापार घाटा साढे २ खर्ब पुग्यो, निर्यात ८ अर्बमै सिमित


बिजखबर संवाददाता
378
Shares

काठमाडौँ । देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालु आर्थिक बर्षको आठ महिनामा २ खर्व ५० अर्व रुपैँया भन्दा बढी पुगेको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को साउन देखी फागुन सम्मको ८ महिनामा वीरगञ्ज नाकाबाट २ खर्व ५८ अर्व ९९ करोड ८८ लाख रुपैँया मूल्यको बिभिन्न मालवस्तु नेपाल भित्रिएको छ भने ७ अर्व ८० करोड ५३ लाख मूल्यको नेपाली उत्पादन निर्यात भएको छ ।

गत आर्थिक वर्षमा नाका बाट निर्यातको तुलनामा ३२ गुणा अर्थात दुई खर्व ५१ अर्व १९ करोड ३४ लाखभन्दा बढीको वस्तु आयात भएको थियो ।

आव २०७३÷७४ को तुलनामा २०७४÷०७५ मा वीरगञ्ज नाकाबाट ४३ अर्व रुपैँया भन्दा बढीको आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । गत आवमा नाकाबाट २ खर्व १५ अर्व ४६ करोड ८६ लाखको आयात भएको थियो । चालु आवको सोही अवधिमा २० प्रतिशत बढी आयात भएको कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिएका छन ।

नाकाबाट चालु आवको ८ महिनामा ३२ गुणाले आयातमा बृद्धि भएको छ भने निर्यातमा २३ प्रतिशतले कमी आएको पोखरेलले बताएका छन ।
गत आवको साउनदेखी फागुन सममा १० अर्व १० करोड २९ लाखको बिभिन्न वस्तु निर्यात भएको थियो चालु आवको सोही अवधीमा २२.७४ प्रतिशत अर्थात २ अर्व २९ करोड ७५ लाखको कम निर्यात भएको भन्सार प्रमुख पोखरेलले बताए ।

नेपालमा उत्पादन भएका वस्तुको लागत खर्च बढी भएको कारण अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेकाले निर्यातमा कमि आएको पोखरेलको भनाइ छ । आयात बढनु र निर्यात घटनुको मुख्य कारण सरकारको व्यापार नीति उद्योगमैत्री नहुनु रहेको वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको भनाइ छ । शर्माले नेपाली उद्योगका लागि उपकरण तथा कच्चा पदार्थ आयात गर्दा करमा सरकारले कुनै सहुलियत नदिएको र भारतको तुलनामा नेपाली व्यापारीले महँगो व्याजदरमा ऋण लिनुपरेकाले अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको बताए ।

नेपाली उद्योगका लागि उपकरण तथा कच्चा पदार्थ आयात गर्दा सरकारले करमा छुट दिए तथा सस्तो दरमा बैँकबाट ऋण उपलब्ध गराए नेपाली उत्पादनको लागत खर्च कम हुनुका साथै हाल देखिएको व्यापार घाटालाई कम गर्न सकिने अध्यक्ष शर्माको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्