Logo

एफएनसीसीआईमा स्वतः अध्यक्ष हुने व्यवस्थाको तिव्र विरोध, शुरु भयो खारेजीको लविङ

एफएनसीसीआईमा स्वतः अध्यक्ष हुने व्यवस्थाको तिव्र विरोध, शुरु भयो खारेजीको लविङ


बिजखबर संवाददाता
1.7k
Shares

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने नेपाल उद्योग वाणिज्य महासंघको विधानबारे महासंघकै सदस्यहरुबीच देशव्यापीरुपमा विरोध शुरु भएको छ ।

तत्कालिन समयमा विशेषगरी पूर्व अध्यक्ष चण्डीराज ढकाललगायतका टीमले हालका अध्यक्ष भवानी राणालाई जसरी पनि अध्यक्ष बनाउनका लागि विधान संशोधन गरिएको सम्बद्ध स्रोतको दावी छ । राजनीतिक संक्रमणकालको मौकामा बहुमतले यो विधान संशोधन त गरियो तर चेत खुलेका महासंघका सदस्यहरु अहिले कुरा बुझ्न थालेका छन र यस्तो अनौठो विधानको खुलेर विरोध गर्न थालेका महासंघकै एक सदस्यले जानकारी दिए । विशेषगरी पूर्व अध्यक्षहरु अहिले यस विधानको खुलेर विरोध गर्दै पद प्रस्ताव आएका पद धमाधम अस्वीकार गर्न थालिरहेको महासंघ सम्वद्ध स्रोतले जानकारी दिएको छ । महासंघको चुनाव आउन अझै दुई बर्ष बाँकी छ । अर्को चुनावमा नयाँ विधान लागू गर्ने हो भने आसन्न वार्षिक साधारण सभामै संशोधन प्रस्ताव लैजानका लागि तयारी समेत गरिएको उक्त स्रोतको दावी थियो ।

ढकालको इच्छा पूरा गर्न महासंघको अध्यक्षात्मक प्रणालीको विधानलाई संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्या गरियो र तत्काल लागिू पनि गरियो । अहिले फेरि ढकाल स्वयम नै यस विधानको विरुद्धमा रहेको स्रोतको दाबी छ । २०७३ साल कार्तिक ४ गते काठमाडौंमा सम्पन्न महासंघको विशेष साधारण सभाले वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थासहित निजीक्षेत्रको यस केन्द्रीय संस्थाको विधानमा छैठौं संशोधन गरिएको थियो ।

पहिला महासंघ एउटा निजी क्षेत्रको सशक्त प्रतिनिधिमूलक संस्थाको रुपमा रहेको थियो र यसको प्रभाव व्यापक थियो । सरकारले गम्भीरतापूर्वक कुरा सुन्थ्यो । सरकारी निकाय तथा कर्मचारी वर्गमा त्यति राम्रो सम्मान नपाएका तर सरकारी तहमा पहुँच बढाउदै गएका महासंघका सदस्यहरु आफ्नो प्रतिनिधित्व र प्रभाव बढेसँगै नेतृत्वमा आउन लालायित हुन थाले र जसरी पनि नेतृत्वमा पुग्ने कसरतस्वरुप उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने जस्तो विधानमा आश्चर्य लाग्दो व्यवस्था पनि गरियो ।

राजनीतिक अस्थिरतासँगै नेपालको निजीक्षेत्रको यो प्रतिनिधिमूलक संस्थामा पनि चरम गुटबन्दी बढ्दै गएको भान सबै सदस्यहरुलाई हुन थालेको छ । यति सम्म कि राजनीतिक दलको प्रतिनिधिको रुपमा महासंघको नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने परिपाटी शुरु भएको छ । केही वर्ष यता नेतृत्वमा आउनेहरु कुन कुन पार्टीको प्रतिनिधित्व गर्छन भन्ने आधारमा मतको राजनीति गणना शुरु हुन्छ । पार्टीको प्रतिनिधित्वका आधारमा मागिने मत निर्णायक हुने गरेको महासंघका एक पूर्व अध्यक्षले जानकारी दिए ।

उनका अनुसार यही गुटवन्दी र चरम राजनीतिक ध्रुविकरणलाई रोक्न संशोधित विधानले ठोस मद्दत पुर्याउने अपेक्षा गरिएको थियो । तर एउटै कार्यकाल नसकिदै महासंघको यो विधान असफल सिद्ध भैसकेको छ । उपाध्यक्षको चुनावमा विभिन्न गुटहरु खडा भए पनि ‘इनकमिङ प्रेसिडेन्ट’ले वीचको अवधिमा सबैलाई मिलाएर जाने विश्वास गरिएको थियो । तर, विधान परिवर्तनपछि भएको चुनावमा त झन बढी गुटबन्दी, पैसा खर्च र नेतृत्वको अभद्र हानाथाप हुनपुग्यो । विभिन्न तारे होटलहरुमा व्यापक पार्टीहरु भए । महासंघको चुनावमा मतदाताहरुको खरिदबिक्री भएका खबरहरु सतहमा छ्याल्लब्याल्ल भएर आए । ‘एक मतको दस लाखसम्म तिरियो रे’ भन्ने समाचारहरु सञ्चारमाध्यमहरुमा प्रकाशित प्रसारित भएको देखियो । अहिले पछिल्लो समय महासंघका सदस्यहरुबाट देशब्यापी रुपमा विरोध आउनु यसैको उदाहरण भएको ती पूर्व अध्यक्षको गुनासो थियो ।

महासंघका एक पूर्व अध्यक्षले अनुभव सुनाउँदै भने, पहिले पहिले अध्यक्षको चुनावमा धेरै विवाद थिएन । जव अध्यक्षमा विनोद चौधरीले दोस्रो कार्यकालका लागि नेतृत्वमा दाबी गरे, त्यसपछि महासंघको नेतृत्व लिनेमा दुई गुट सँधै देखिइरह्यो । चुनावमा पैसाको खोलो बग्न थाल्यो । तीब्र गुटबन्दीका कारण काम गर्न कठिन हुन थाल्यो । सरकारी क्षेत्रमा प्रभाव र पहुँच फितलो देखिन थाल्यो । यस अवधिका महासंघका ८ वटा भन्दा बढी अध्यक्षहरु यस्तै पिरलोमा रुमल्लिरहे । आ–आफ्नो निजी प्रभाव अनुसार काम गरे । तथापि जे जसो गरेर भएपनि चुनाव जितेर आएको भन्ने नैतिक बलका कारण नेतृत्व निकै प्रभावशाली नै थियो ।

तर, जब महासंघमा उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भयो, त्यसपछि भने महासंघको नेतृत्वलाई कर्मचारीले पनि राम्रो साथ दिएको जस्तो लाग्दैन भने सरकारी कर्मचारी र मन्त्रीहरुले पनि त्यति मान मनितो गरेजस्तो लाग्दैन । महासंघका एक सदस्यले भने, ‘त्यति मात्र होइन, अहिले त महासंघका अध्यक्षको आकर्षण र क्रेज नै छैन, त्यसैले पनि हुनसक्छ, अहिले त महासंघको वर्तमान नेतृत्व अर्थात भवानी राणा नै विधान संशोधन हुनसक्ने सार्वजनिक अभिब्यक्ति दिन थाल्नुभएको छ ।’

स्थापनाकालमा उद्योग वाणिज्य संघका साधारण सदस्य र एसोसिएट सदस्य गरी दुई थरी सदस्यता व्यवस्था थियो । नेपालको कुनै एक जिल्लामा संगठित व्यापारी तथा उद्यमीहरुको संगठनलाई साधारण सदस्यता दिइन्थ्यो । १० लाख रुपैयाँ चुक्ता पूजी भएको कम्पनी, कर्पोरेसन, बैंक या उद्योगले संघको एसोसिएट सदस्यता पाउनसक्थे । जिल्ला उद्योग वाणिज्य संघ साधारण सदस्य हुन्थे । औद्योगिक र व्यापारिक कम्पनीहरु एसोसिएट सदस्य हुनसक्ने व्यवस्था थियो । संघको सभापति छान्दा साधारण सदस्य र एसोसिएट दुबैलाई मत दिने बराबर अधिकार थियो । तर, यसमा पनि असमान व्यवस्था भयो भनेर पछि संशोधन गरियो । जिल्ला उद्योग वाणिज्य संघहरुलाई बढी मताधिकार दिइयो । त्यसैले यसअघिको विधानमा जे–जस्ता व्यवस्थाहरु गरियो ती सबै उच्च प्रजातान्त्रिक थिए ।

२०७३ कार्तिक ४ गते महासंघको विशेष साधारण सभाबाट पारित छैठौं संशोधनले भने महासंघको विधानमा आमूल परिवर्तन नै भयो । ‘यस विधानको दफा ३४.२ (क) बमोजिम अघिल्लो कार्यकालका लागि निर्वाचित वरिष्ठ उपाध्यक्ष नयाँ गठन हुने कार्यकारिणी समितिको स्वतः अध्यक्ष हुनेछ,’ भनियो । अध्यक्षात्मक प्रणालीको चार्म लगभग ध्वस्त गरियो । अध्यक्ष नै कमजोर भएपछि यस संस्थाको सार्वजनिक प्रतिष्ठा गरिमा र प्रभाव कमजोर बनेको छ । यस्तो अवस्थामा अहिले समानान्तररुपमा खडा भएका नेपाल उद्योग परिसंघ र नेपाल चेम्वर अफ कमर्स महासंघको कमजोर संरचनाबाट फाइदा उठाउँदै आफ्नो प्रभाव विस्तार गर्न सक्षम बन्दै गएका छन ।

महासंघको कमजोर प्रभाव देखेर चेम्वरले समेत संघीय संरचनाका नाममा देशब्यापीरुपमा आफ्नो प्रभाव विस्तार गर्दै लगेको देखिएको छ । महासंघका एक प्रभावशाली सदस्यले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा भने, यस्तो अवस्थामा महासंघले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने अनौठो प्रणालीमा संशोधन गरी अध्यक्षात्मक प्रणालीमै फर्किनुपर्ने चुनौती र बाध्यता सिर्जना भएको छ । अन्यथा महासंघको निजी क्षेत्रको केन्द्रीय संस्था छाता संगठनको छवि शून्यमा विलय हुने खतरा बढेर गएको छ । साथै सोका लागि महासंघका प्रभावशाली व्यक्तिहरु विधान संसोधन गर्ने तयारीमा जुटेका र त्यसो भएमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा समेत आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा आउनुपर्ने ती सदस्को दावी थियो ।

प्रतिक्रिया दिनुहोस्