काठमाडौं । श्रीजंग शाहले फत्तेबाल अस्पताललाई जग्गा दान गरेका छन् । नेपालगञ्जमा रहेको सो अस्पताललाई काठमाडौं महानगरपालिका १ कान्तिपथको करिब ५ कठ्ठा जग्गा दान गरेका हुन् ।
चलनचल्तीको मूल्यांकनमा जग्गाको दाम करिब १ अर्ब रहेको छ । बुवा कप्तान फत्तेजंग शाह आमा बाल दिव्यश्वरी शाहले नेपालगन्जको फुटेग्रास्थित आफ्नो २० कोठाको घर र करिब ३० कठ्ठा जग्गा अस्पताललाई दानमा दिएको थियो। घरजग्गा दानमा दिने दाताको नामबाट नै अस्पतालको नाम राखिएको हो।
सो घरजग्गाको अहिलेको मूल्यांकन गर्ने हो भने करिब ३० करोड हुने अस्पतालका प्रबन्धक डा कौशल कुमार बर्मा बताउँछन्।
समाजका लागि दान गरेर सेवा र्पुयाउने बुवाआमाको कार्यलाई अहिले छोरा श्रीजंग शाहले निरन्तरता दिएका छन्। दानवीर ९१ वर्षीय श्रीजंग शाह पत्नी रुद्रकुमारी शाहसँगै बस्दै आएका छन्। उनीहरुकी एक विवाहित छोरी छिन्।
शाहले दान गरेको जग्गा पास भएर लालपुर्जा नै अस्पतालको नाममा आइसकेको प्रबन्धक डा बर्माले बताए। उक्त घरजग्गा शाहको मरोणपरान्त अस्पतालको स्वामित्वमा आउनेछ।
बुवाले दानमा दिएको घर र जग्गामा बनेको आँखा अस्पतालबाट नेपालगन्जलगायत पश्चिम नेपाल र भारतका विभिन्न सहरका विपन्न नागरिकले सर्वसुलभ रुपमा गुणस्तरीय उपचार सेवा पाउँदा आफूलाई निकै खुसी लागेको शाह बताउँछन्।
’बुवाआमाको निस्वार्थ सामाजिक कार्यको प्रेरणाले मैले पनि यस्तो निर्णय गरेको हुँ,’ उनी भन्छन्। अस्पताले चित्तबुझ्दो काम गरेकाले आफूले बुवाआमाकै सत्मार्ग पछ्याएको उनको भनाइ छ।
२०४३ सालमा १० बेडबाट सुरु भएको अस्पतालमा अहिले २ सय ५० बेड सञ्चालनमा छ । स्थापनाकालमा ४ हजार ५ सय ६९ जना बिरामीको उपचार गर्नुका अस्पतालले १ सय ५३ जनाको शल्यक्रिया गरेको थियो।
अस्पतालले गत आर्थिक वर्षमा १ लाख २० हजार ७ सय ३७ बिरामीको आँखा परीक्षण गरी उपचार गर्नुका साथै तीमध्ये ११ हजार ७ सय १ बिरामीको आँखाको शल्यक्रिया गरेको छ।
अस्पताल बिहान ८ बजे देखि ११ बजेसम्म र अपराह्न साढे १२ देखि साढे ३ बजेसम्म सञ्चालन हुँदै आएको छ। यहाँ ३ जना नेत्र विशेषज्ञ, १६ जना नेत्र सहायकसहित ७१ जना कर्मचारीहरु कार्यरत छन्।