Logo

बीस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक

बीस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक


बिजखबर संवाददाता
486
Shares

काठमाडौं । सरकारले आगामी चैतदेखि २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । बढ्दो सवारी दुर्घटना तथा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।

यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो ।

विभागका महानिर्देशक रुपनारायण भट्टराई २०७३ फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताए । ‘नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ साल फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय भएको हो,’ उनले भने, ‘उपत्यकाबाट नहटेका २० वर्ष पुराना सवारी पनि फागुन मसान्तसम्म हटाइनुपर्छ, नहटाए कानूनी व्यवस्थाअनुसार सवारी साधन नियन्त्रणमा लिइनेछ, चल्न पाउने छैनन् ।’

विभागका अनुसार २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न पाउनेछन् । हाल देशभर २० वर्ष पुराना ५ हजार ५ सय सवारी साधन सञ्चालनमा छन् ।

विभागले उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिका विरुद्धमा अभियान सञ्चालन गरिरहेका भक्तपुरका रामबहादुर थापाले जानकारी दिए/रासस

प्रतिक्रिया दिनुहोस्