Logo

सीएनआई अध्यक्ष शर्माले भने, ‘नेपालको पैसा विदेशमा लगी एनआरएन बनेर भित्र्याउने परम्परा रोक्नुपर्छ’

सीएनआई अध्यक्ष शर्माले भने, ‘नेपालको पैसा विदेशमा लगी एनआरएन बनेर भित्र्याउने परम्परा रोक्नुपर्छ’


बिजखबर संवाददाता
405
Shares

काठमाडौं । नेपालको पैसा विदेशमा लगेर गैर आवासीय नेपाली (एनआरएन)को नाममा पुनः नेपालमा भित्र्याउने परम्परा रोक्नुपर्ने देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक तथा नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष हरिभक्त शर्माले बताए । ‘अहिले नेपालबाट विदेशमा पैसा लगेर एनआरएनको नाममा पुनः नेपालमा भित्र्याउने प्रतिश्पर्धा बढेको छ,’ देउराली जनताको २७ औं बार्षिकोत्सवमा बोल्दै उनले भने, ‘आगामी दिनमा सरकारले लगानीमैत्री वातावरण निर्माण गरी स्वदेशी पूँजी स्वदेशमा नै लगानी गर्ने वातावरण निर्माण गर्नुपर्छ ।’

नेपालले अबका दिनमा नेपाली कामदारलाई कम तलब दिने मुलुकसँग श्रम सम्झौता गर्न नहुने बताउँदै देश निर्माणका लागि नयाँ उद्योग खोलेर नेपालमै रोजगारीमा लगाउनु पर्ने उनको भनाइ थियो । ‘नेपालले अबका दिनमा मासिक २ सय डलर तलब दिने देशमा होइन, यूरोप, अमेरिका, जापान, अष्ट्रेलियालगायत विकसित मुलुकमा कामदार पठाउन सम्झौता गर्नुपर्छ,’ उनले भने, ‘ती देशमा गएका कामदारले बढी पूँजी भित्र्याउनुका साथै सोही अनुरुप प्रविधि पनि ल्याउनेछन् ।’

देशमा देउराली जनताजस्तै ५ हजार कम्पनी स्थापना गर्न सकेमा नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलरभन्दा माथी पुग्ने समेत उनको दाबी थियो । साथै नेपाल राजनीतिक कार्यकर्ता उत्पादन गर्ने थलोको रुपमा विकास भएकाले पछिल्लो समय उद्योग कलकारखानाले कामदार समेत पाउने छाडेको उनको गुनासो थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उपराष्ट्रपति नन्दकिशोर पुनले देशमा औषधिका लागि आवश्यक कच्चा पदार्थहरु अथाहा भएको भन्दै आगामी दिनमा औषधि निर्यातको प्रचुर सम्भावना भएको बताए । ‘हामीले पछिल्लो १ बर्षमा ७० करोड रुपैयाँभन्दा बढीको औषधि निर्यात गरेका छौं,’ उनले भने, ‘आगामी दिनमा सरकारले पुरानो औद्योगिक नीति परिमार्जन गरी नयाँ उद्योग मैत्री नीति निर्माण गरेमा देशमा प्रचुर मात्रामा औषधि निर्यात गर्न सकिनेछ ।’ देशमा अझै पनि ५६ प्रतिशतभन्दा बढी हिस्सा विदेशी औषधिको रहेको जानकारी दिँदै औषधिमा आत्मनिर्भर बनाउन सरकारले पनि सोही अनुरुपका नीति ल्याउनुपर्ने उनको सुझाव थियो । साथै, देशको व्यापार घाटा काम गर्ने माध्यमको रुपमा औषधि उद्योग हुन सक्ने उनको भनाई थियो ।

देशमा निजी क्षेत्रबाट संचालित अस्पतालहरु धेरै महङ्गो भएका कारण सर्वसाधारणको स्वास्थ्यमा पहुँच नपुगेको बताउँदै अबका दिनमा स्वास्थ्य क्षेत्रलाई सेवामुलक बनाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL