Logo

अमेरिकामा अस्थायी खर्च विधेयक पारित, संघीय सरकारका लागि रकम उपलब्ध गराउन सक्ने

अमेरिकामा अस्थायी खर्च विधेयक पारित, संघीय सरकारका लागि रकम उपलब्ध गराउन सक्ने


बिजखबर संवाददाता
27
Shares

वासिङटन । अमेरिकामा संघीय निकायहरु सञ्चालनका लागि अस्थायी रुपमा खर्च उपलब्ध गराउने सम्बन्धि बिधेयक पारित भएको छ । माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक विफल बनेपछि आएको आर्थिक अन्यौलतालाई अन्त्य गर्दै दुवै सदनले सो विधेयकलाई पारित गरेका हुन् ।

बहुमतबाट पारित भएको उक्त विधेयकले संघीय सरकार सञ्चालनका लागि अर्को साढे दुई हप्तासम्म रकम उपलब्ध गराउन सक्नेछ ।

सरकारी खर्चबारे सिनेटमा भएको यो अस्थायी विधेयकको पक्षमा ८१ मत र विपक्षमा १८ मत खसेको थियो ।

रिपब्लिकन र डेमोक्र्याट्सहरूले अस्थायी रुपमा रकम उपलब्ध गराउने उक्त विधेयक पारित गरेपछि बन्द रहेका सरकारी कार्यालयहरू मंगलवारबाट पुनः खुल्ने अपेक्षा गरिएको छ ।

खर्चसम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको भन्दै विदेशमा लड्न पठाइएका सेनालाई तलब खुवाउनसमेत समस्या भएको थियो ।

फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक रहेकोमा आप्रवासन र सीमा सुरक्षाजस्ता विषयमा चर्को विवादबीच त्यो पारित हुन सकेको थिएन ।

पूर्व राष्ट्रपति बाराक ओबामाको पालामा ल्याइएको कार्यक्रमअन्तर्गत केटाकेटी हुँदा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरूलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने डेमोक्र्याटहरूको माग विवादको मुख्य विषय रहँदै आएको छ ।

खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएपछि राष्ट्रपति ट्रम्पको कार्यालयले डेमोक्र्याटहरूले राजनीतिक स्वार्थ हेरेका कारण पछिल्लो अवस्था निम्तिएको आरोप लगाएको थियो । एपी /रासस

प्रतिक्रिया दिनुहोस्
MBL