काठमाडौं । आइतबार सातवटै प्रदेशसभाका सांसदहरुको छुट्टाछुट्टै शपथ ग्रहण हुँदै छ ।
५५० सांसदहरुको शपथ ग्रहण सम्बन्धित प्रदेशको अस्थायी मुकाममा आज हुन लागेको हो । देश संघीयतामा गइसकेपछि नेपालको इतिहासमै पहिलो पटक हुन लागेको शपथ ग्रहणसँगै प्रदेशहरुको गठन र कार्य औपचारिकरुपमा सुरु हुनेछ ।
साथै अब प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने तथा विभिन्न विधेयकहरु पारित हुनेलगायतका कामहरु अगाडि बढ्ने छ ।
मुख्यमन्त्री चयन र प्रदेश सरकार गठनका लागि भने अझै केही साता लाग्ने छ ।
सुरुमा सम्बन्धित प्रदेशका प्रदेश प्रमुखले प्रदेश सांसदहरुमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन् । अन्य सांसदहरूले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् ।
सातवटै प्रदेश मुख्यालयमा फरक फरक समयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।