Logo

‘अडान’को तेस्रो राष्ट्रिय परिषद शुरु, लेखापरीक्षकको मागप्रति सरकार गम्भीर रहेको स्वास्थ्य मन्त्रीको भनाइ

‘अडान’को तेस्रो राष्ट्रिय परिषद शुरु, लेखापरीक्षकको मागप्रति सरकार गम्भीर रहेको स्वास्थ्य मन्त्रीको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ फागुन, काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले नेपालका लेखापरीक्षकहरुको माग र समस्याप्रति नेपाल सरकार गम्भिर रहेको बताए । लेखापरीक्षकहरुको साझा पेशागत संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को तेस्रो राष्ट्रिय परिषदको पोखरामा उदघाटन गर्दै अधिकारीले सो कुरा बताएका हुन । ‘एउटा व्यक्तिले गरेको खराब कामले त्यससँग सम्वद्ध सबैलाई बदनाम बनाउँदै आएको छ,’ उनले भने, ‘समाजमा असल आचरण देखाउनका लागि लेखापरीक्षण क्षेत्रका बेथितिहरुलाई अन्त्य गर्नु पर्छ ।’

लेखापरीक्षकहरुले राजस्व आयवृद्धि, सामाजिक सुशासन र आर्थिक अनुशासन कायम गर्ने भूमिकामार्फत राष्ट्र निर्माणमा योगदान गरिरहेको भन्दै उनले प्रशंसा गरे । साथै, लेखापरीक्षकहरुले कुनै पनि प्रभावमा नपरी पेशागत आचरण र मर्यादाको आधारमा काम गर्न जरुरी रहेको बताउदै अधिकार खोजिरहदा आफनो कर्तव्य नबिर्सन आग्राह समेत गरे ।

कार्यक्रममा व्यवस्थापिका संसदका विकास समितिका सभापति रविन्द्र अधिकारीले पेशारत लेखापरीक्षकहरुको क्षमता अभिवृद्धि गरेर अहिलेको आवश्यकता पुरा गर्नुपर्ने बताए । लेखापरीक्षकहरुलाई अनुशासित, जिम्मेवार र अध्यावधिक बनाउने दायित्व राज्यको पनि भएको बताउदै अधिकारीले त्यसका लागि सरकारले आवश्यक नीति र बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

अडान अध्यक्ष मोहनराज रेग्मीले नेपालको आर्थिक अनुशासन र सामाजिक सुशासनमा लेखापरीक्षकहरुले गरेको योगदानको कदर गर्न र लेखापरीक्षकहरुको हकहित र क्षमतावृद्धिमा राज्य र नियामक निकायलाई गम्भिर हुन आग्रह गरेका छन् ।

परिषदमा सभासद भरत साउद, क्षेत्रीय प्रशासक दिनेश थपलिया, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) का अध्यक्ष नरेन्द्र भट्टराई, बिमा समितिका अध्यक्ष प्रा. डा. फत्तबहादुर केसी, धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठ, पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, अडानका संस्थापक अध्यक्ष कमल खरेलको मन्तव्य राखेका थिए । यसका साथै, आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा, टे«ड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुंवर, अखिल नेपाल ट्रेड युनियन महासंघका राजेन्द्र न्यौपानेलगायतले बोलेका थिए ।

दुई दिनसम्म चल्ने परिषदमा ६५ जिल्लाका ३ सय २५ प्रतिनिधिहरुले भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL