Logo

वल्र्ड इनोभेसन फोरममा नेपाल विशेष रुपमा सहभागी हुँदै, ४ स्टार्टअप छानिए

वल्र्ड इनोभेसन फोरममा नेपाल विशेष रुपमा सहभागी हुँदै, ४ स्टार्टअप छानिए


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्विट्जरल्यान्डको लुश्रेनमा हुने पहिलो वल्र्ड इनोभेसन फोरममा नेपालले विशेष सहभागिता जनाउने भएको छ । छानिएका चार उद्यमशील नवसिर्जनाका ‘स्टार्टअप’ सोचहरूसहित नेपालले सहभागिता जनाउन लागेको हो ।

नेपालमा नवीतम प्रविधि र आविष्कारहरूलाई प्रबद्र्धन गर्ने मूल उद्देश्यसहित आयोजना गरिएको तीन दिने नेपाल स्वीस टेक्नोलोजी ट्रान्सफर कार्यशालाबाट ती स्टार्टअप सोचहरू छानिएका हुन् ।

स्विट्जरल्यान्डका नेपाली डायस्पोराद्वारा स्थापित नेप्लिज साइन्टिफिक एसोसिएसन इन स्विट्जरल्यान्ड (नेप्सास) द्वारा नेपालस्थित एसडीसीको सहयोगमा काठमाडौंको गेट कलेजमा आयोजना गरिएको कार्यक्रममा नेपालभरिका ५० भन्दा बढी नवआविष्कारमा संलग्न युवाहरूको सहभागिता थियो ।

प्रविधिजन्य क्षेत्रमा नेपालभरिकै रचनात्मक सिर्जनामा संलग्न व्यक्ति तथा समूहबाट आवेदन माग गरि परियोजनाको खाका प्रस्तुत गर्न लगाइएकोमा प्राप्त ५०० आवेदनमध्येबाट ५० जना छनोट गरिएको नेप्सासका अध्यक्ष रञ्जन मिश्र बताउछन् ।

छानिएका ५० जना सहभागीहरूलाई विभिन्न चरणमा प्रविधि हस्तान्तरण, परियोजना विकास र सञ्चालनका तौरतरिकाहरूबारे उद्यम, व्यवसाय, प्रविधि, वित्त, व्यवस्थापन, चिकित्सासहितका क्षेत्रका विज्ञहरूले प्रशिक्षण गरिएका थियो । नानो टेक्नोलोजी विज्ञ तथा सिंगापुर युनिभर्सिटीका पूर्व डिन श्रीराम रामकृष्णननले समेत विशेष अतिथिका रुपमा सहभागीहरूलाई प्रशिक्षित गर्नु भएको थियो ।

प्रतियोगिताबाट छानिएका चार ‘स्टार्टअप’हरूले स्विट्जरल्यान्डमा आयोजना हुने पहिलो वल्र्ड इनोभेसन फोरममा सहभागिता जनाउन लागेका हुन् । ‘नेपाल अहिले विश्वव्यापी आविष्कारहरूमा नेपाल १२९ औं स्थानमा छ भने स्विट्रल्यान्ड नवसिर्जनाहरूमा विश्वकै पहिलो स्थानमा छ । जुन देशमा यस्ता आविष्कारहरू, विज्ञान तथा प्रविधिको बढी विकास र उपयोग भएको हुन्छ, त्यसले आर्थिक रूपमा पनि उन्नति गरेको अध्ययनले देखाएको छ’ वल्र्ड इनोभेसन फोरमका नेपालका लागि राजदूत खेम लकाईंले भने ।

विश्वमा आविष्कार तथा नवसिर्जनाका क्षेत्रहरूमा भइरहेका नयाँ–नयाँ अभ्यास नेपाल भित्र्याउन यस्ता कार्यक्रमले योगदान दिने उनले जानकारी दिए ।

आगामी वर्षदेखि यस्तो प्रतियोगितालाई अझ देशव्यापी बनाएर त्यसलाई अन्तर्राष्ट्रिय इनोभेसन फोरमसँग आवद्ध तुल्याउने प्रतिबद्धता लकाइले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्