Logo

रेशम चौधरीलाई प्रमाणपत्र र सपथ संसदबाटै

रेशम चौधरीलाई प्रमाणपत्र र सपथ संसदबाटै


बिजखबर संवाददाता
513
Shares

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसद रेशम चौधरीलाई सपथ र प्रमाण पत्र संसदबाटै दिइने भएको छ । कैलालीको टिकापुर घटनाको फरार अभियुक्त चौधरी प्रतिनिधिसभामा निर्वाचित भए पश्चात प्रमाणपत्र ग्रहण गर्न नआएपछि जिल्ला निर्वाचन कार्यालयले उनको प्रमाणपत्र निर्वाचन आयोगमा पठाउने तयारी गरेको हो ।

निर्वाचन आयोगले सम्बन्धित व्यक्ति आएमा मात्र प्रमाणपत्र दिन जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरेको थियो । सोही अनुरुप चौधरीको प्रमाणपत्र निर्वाचन कार्यालय काठमाडौंमा पठाउन लागिएको सो क्षेत्रका निर्वाचन अधिकृत खिमानन्द भुषालले जानकारी दिए । ‘हामीले यस क्षेत्रका नागरिक समाज लगायतका प्रतिनिधिसँग पनि छलफल गरेका छौं,’ उनले भने, ‘सम्बन्धित व्यक्तिलाई नै प्रमाणपत्र बुझाउनु पर्ने भएकाले अब काठमाडौं पठाउने तयारी गरेका छौं ।’

भुषालका अनुसार सो प्रमाणपत्र निर्वाचन आयोग पठाइने र आयोगले संसदमा पेश गर्नेछ । निर्वाचित चौधरीले संसदमै गएर प्रमाणपत्र लिन र शपथ खान मिल्ने उनको तर्क छ । चौधरीलाई सो क्षेत्रका प्रहरीले विशेष चासोका साथ खोजी गरिहेको छ ।

राष्ट्रिय जनता पार्टीकातर्फबाट निर्वाचित चौधरीले एमालेकी उम्मेदवार मदनकुमारी शाहलाई २१ हजार मतान्तरले पराजीत गरी विजयी भएका हुन् । चौधरीले ३४ हजार ३ सय ४१ मत प्राप्त गर्दा शाहले १३ हजार ४ सय ६ मत पाएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्