काठमाडौं । बिहीबर मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्येक्षतर्फको उम्मेदवारी मनोनयन हुँदैछ । निर्वाचन आयोगका अनुसार आज ४५ जिल्लामा उम्मेदवारी दर्ता हुन लागेको हो ।
४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र छ । त्यस्तै प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्र छन् । यसअघि पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते ३२ हिमाली जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ ।
आयोगको जिल्लामा स्थापितमुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट दुवैतर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गराउन सक्ने प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
कसरी गर्ने उम्मेदवारी दर्ता ?
प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराउन चाहनेले दलको सिफारिस पत्र पेस गर्नुपर्ने छ । साथै १जना प्रस्तावक र १ जना समर्थकको सहयोगमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । प्रस्तावक र समर्थक भने उम्मेदवारी दिने क्षेत्रकै हुनुपर्ने व्यवस्था छ ।
यता प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिन चाहने व्यक्तिले पनि दलको सिफारिसपत्र पेश गर्नुपर्ने छ । यसका साथै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र आफ्नो निर्वाचन क्षेत्रभित्रको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ ।