Logo

काठमाडौंको फोहोर बञ्चरेडाँडामा, तीन दिनभित्र उपत्यकाको फोहोर उठाइने

काठमाडौंको फोहोर बञ्चरेडाँडामा, तीन दिनभित्र उपत्यकाको फोहोर उठाइने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा व्यवस्थापन गर्ने तयारी थालेको छ ।

हाल फोहोर फालिदै आएको ओखरपौवाको सिसडोलबाट आधा घण्टा टाढा बञ्चरेडाँडामा फोहोर व्यवस्थपनका लागि योजना बनाइएको महानगर उपमेयर  हरीप्रभा खड्गीले जानकारी दिइन् । ‘बस्ती नजिकै भएकोले फोहोरबाट धेरै स्वास्थ्य समस्या देखियो’ उनले भनिन्, ‘यसले गर्दा मानवबस्ती भन्दा अलि टाढा फोहोरलाई व्यवस्थापन गर्न लागिएको हो ।’ यसका लागि सरकार समक्ष बजेट व्यवस्था गर्न माग राखिसकेको पनि उनले जानकारी दिइन् ।

गहिरो ठाउँ भएकोले फोहोर राख्न पनि सहज हने भएकोले बञ्चरेडाँडा छनोटमा परेको खड्गीले बताइन् । बञ्चरेडाँडामा ३० बर्षसम्म फोहोर फाल्न सकिने उनले जानकारी दिइन् ।

काठमाडौं महानगरपालिकाबाट दैनिक ५ सय टन फोहोर सिसडोलमा व्यवस्थापन गरिदै आएको छ । सुरुमा तीन बर्षका लागि सो क्षेत्रमा फोहोर राख्ने सहमती भएपनि विगत १३ बर्षदेखि महानगरपालिकाको फोहोर सिसडोलमै राखिदै आएको छ । फोहोरले स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थनीयले बेला बेलामा फोहोरको गाडी प्रतिबन्ध समेत गर्दै आएका छन् ।

गत साता फोहोर नउठेपछी काठमाडौं महानगरपालिकाका उपमेयर खड्गीको नेतृत्वमा गएको टोलीले स्थानीयसँग छलफल गरेको थियो । छलफलमा स्थानीयको माग पुरा गर्ने सहमती भएपछि फोहोर उठ्न थालेको हो । सहमती अनुसार काठमाडौं महानगरपालिकाले स्थानीयलाई ५० लाख रुपैयाँ बराबरको मुुआब्जा प्रदान गरेको छ । साथै एउटा एम्बुलेन्स उपलब्ध गराउन खरिद प्रक्रिया अघि सारिएको महानगरपालिकाले जानकारी दिएको छ । त्यस्तै सिसडोलमा पक्की बाटो बनाउन समेत थालिएको छ ।

तीन दिनभित्र फोहोर उठ्ने

स्थानीयले फोहोर उठाउने गाडी चालकलाई कुटपिट गरेको भन्दै तीन दिनदेखि उपतयकाको फोहोर उठ्न सकेको छैन । स्थानीयसँगको वार्तासँगै आइतबारदेखि फोहोर उठाउन थालिएको खड्गीले जानकारी दिइन् । तीन दिनभित्रै उपत्यकाभित्रको सबै फोहोर उठाइने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL