Logo

आइतबारदेखि उपत्यकाको फोहोर उठाउन शुरु, एकैपटक २० ओटा गाडी परिचालन

आइतबारदेखि उपत्यकाको फोहोर उठाउन शुरु, एकैपटक २० ओटा गाडी परिचालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आइतबारदेखि उठाउन शुरु गरिएको छ । एक हप्तदेखि नउठेको फोहोर आजदेखि उठाउन शुरु गरिएको काठमाडौं महानगरपालिकाका उपमेयर हरीप्रभा खड्गीले जानकारी दिइन् । ‘उपत्यकाको फोहोर उठाउन २० ओटा गाडी परिचालन गरिएको छ ’ उनले भनिन्, ‘भोली बेलुकासम्ममा सबै फोहोर उठ्ने छ ।’

फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्द गरेपछी फोहोर उठाउन छोडिएको थियो । महानगरपालिकाले शनिबार उनीहरुसँग समझदारी गरेपछी आइतबारबाट फोहोर उठाउन थालिएको उनले जानकारी दिइन् ।

फोहोरको फाल्ने ठाउँबाट ९०० मिटर दूरीमा पर्ने आवास र गोठका अति प्रभावितलाई प्रतिस्क्वायर मिटर वार्षिक ५० रुपैयाँ दिँदै आएको थियो । तर नयाँ आर्थिक वर्षदेखि घटाएकाले विरोध गरेका थिए ।

त्यही कारण देखाउदै सिसीडोलका बासिन्दाले सहमतिको कार्यान्वयन नभएको, मुआब्जाको सीमा र रकम शुल्क घटाएको विरोधको माग सम्बोधन नभएसम्म फोहोर फाल्न नपाउने भनेका थिए ।

काठमाडौं महानगरपालिकाले तीन वर्षका लागि ओखरपौवाको सिसडोलमा फोहोर फाल्ने भनेभने १३ बर्षदेखि फालिँदै आएको छ ।
स्थानीयवासीले उठाएका वैज्ञानिक रूपमा फोहोर विसर्जन, फोहोर फ्याँक्ने आउने मूल सडकको स्तरोन्नति र गाउँको शाखा सडक कालोपत्रे हुनुपर्ने माग गर्दे आएका थिए । स्थानीयले राखेको सबै माग जायज भएको खड्गीले बताइन् ।

साथै फोहोरको समस्यालाई दिगो रुपमा हटाउन सरकारसँग छलफलको तयारी थालेको जानकारी दिइन् । ‘सधैभरी फोहोरमा अल्झेर भएन, अब समस्या हटाएर फोहोरलाई मोहोर बनाउनेतर्फ लाग्ने छौं ’ उनले भनिन् ।
महानगरपालिकाका अनुसार फोहोर फ्याँक्न सिसडोलबाट एक हजार ९०० मिटरको दूरीमा पर्ने वैकल्पिक स्थान बञ्चरेडाँडामा पूर्वाधार निर्माण गरिने सहमती भएको हो । साथै प्रभावित बासिन्दाका लागि १५ शैय्या क्षमताको अस्पतालको निर्माण सुरू गर्नुपर्ने माग पनि पुरा गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्