Logo

अन्यौलमा दशैंको अग्रीम टिकट बुकिङ, आ–आफ्नै अडानमा सरकार र ब्यवसायी

अन्यौलमा दशैंको अग्रीम टिकट बुकिङ, आ–आफ्नै अडानमा सरकार र ब्यवसायी


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सरकार र ब्यवसायीका आ–आफ्नै अडानका कारण यस बर्षको दशैंको लागि अग्रीम टिकट बुकिङ अन्यौलमा परेको छ । यही भदौं २२ गते अर्थात बिहीबारदेखि लामोदुरीका बसको टिकट बुकिङ खुला गर्ने भनिए पनि हालसम्म सहमति जुट्न सकेको छैन ।

सरकारले विद्यमान आवस्थामा रहेको मुग्लिन नारायणगढ बाटो तथा देशभरका अन्य बाटोको स्तरोउन्नति र बसमा छत राख्न नदिएसम्म दशैंका लागि अग्रीम टिकट बुकिङ खुला नगरिने नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘हामीले सरकारलाई बाटो मर्मत र बसमा छत राख्न दिने विषयमा सहमति जुटाउन ३÷४ महिनादेखि भन्दै आएका छौं,’ उनले भने, ‘तर, यस विषयमा सरकारले कुनै चासो देखाएको छैन ।’

लामो दुरीका सवारीसाधमा छत नराखेसम्म संचालन नै गर्न नसकिने सिटौला बताउँछन् । ‘दशैमा घर जाने हरेक यात्रुसँग १० किलोग्रामभन्दा बढी सामान हुन्छ यदि सरकारले बसमा छत राख्न नदिने हो भने ती सामान कहाँ राख्ने ?,’ उनले भने, ‘हामीले छतमा मान्छे राख्दैनौं तर यात्रुका सामान राख्न दिनुपर्यो भन्दा पनि सरकारले अनावश्यक बखेडा निकालिरहेको छ ।’ यदि ब्यवसायीले छतमा मान्छे राखेको खण्डमा जुनसुकै कारबाहीको भागिदार हुन पनि तयार रहेको उनको भनाइ छ ।

सरकारले २२ गतेबाट अग्रीम टिकट बुकिङ खुला गरिदिन आग्रह गरेको तर छत र बाटोको विषयमा टुङ्गो नलगाएसम्म बुकिङ खुला गर्न नसकिने सिटौलाले जानकारी दिए । ‘यस पटकको दशैमा यातायात ब्यवसायीले नयाँ बस थप्दैनन्,’ उनले भने, ‘मुग्लिन नारायणगढको बाटो मर्मत तथा बसमा छत राख्न नदिने हो भने अग्रीम टिकट बुकिङ पनि खुला हुँदैन ।’

तर, यातयात व्यवस्था विभागले भने कानुन विपरित गएर बसमा छत राख्न नदिइने बताएको छ । छत राखिएको बसलाई जाँच पास नै नदिइने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनाराण भट्टराइने बताए । ‘बसमा छत राख्न दिनका लागि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ लाई परिमार्जन गरिनुपर्छ,’ उनले भने, ‘उक्त नियमावली परिमार्जन नभएसम्म कुनै पनि हालतमा बसमा छत राख्न दिइने छैन ।’ तर बाटो मर्मतको विषयमा भने आफुले सबै सरोकारवाला निकायलाई भनिसकेको र क्रमशः बन्दै जाने उनले जानकारी दिए ।

अहिले ब्यवसायीले जाँचपासको क्रममा छत फुकाल्ने र पुुनः ग्यारेजमा ल्याएर जोड्ने काम गर्दै आएको उनको आरोप छ । साथै अबमा दिन त्यस्तो गरेको थाहापाएमा फिल्डमै गएर अनुगमन गरी कारबाही गरिने समेत उनले जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रीम टिकट बुकिङ खुला नगर्ने अडान राखे पनि केही स्थानको भने बुकिङ खुला भइरहेको उनले जानकारी दिए । ‘आजैमात्र (मंगलबार) बसपार्कमा अनुगमनमा गएको थिए,’ उनले भने, ‘स्याङ्जा, बाग्लुङ, म्याग्दी, सल्यानलगायतका क्षेत्रमा जाने सवारीको अग्रीम टिकट बुकिङ खुला भसमेको छ ।’ महासंघले अग्रीम टिकट बुकिङ खुला नगर्ने बताएपनि बसपार्कका काउण्टरहरुले क्रमशः टिकट बुकिङ खुला गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार अग्रीम टिकट बुकिङ गर्ने सम्बन्धमा महासंघले विभागसँग अनावश्यक माग राखेर खुला नगरेपनि सम्बन्धित व्यवसायीहरुले खुला गर्ने क्रम जारी रहेको छ । ‘महासंघले विभागसँग अग्रीम टिकट बुकिङ खुला गर्ने सम्बन्धमा आफुनै आधिकारीक भन्ने सर्तमा कुरा गरिरहेको छ,’ उनले भने, ‘तर महासंघले भनेको नै धेरै ब्यवसायीले मान्ने छाट देखेको छैन ।’ अग्रीम टिकट बुकिङ खुला गर्ने सम्बन्धमा महासंघसँग पनि छलफल भइरहेको र केही दिनभित्रै खुला गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL