काठमाडौं । चिनिया भाषामा पथ प्रदर्शन गर्ने चाइनिज गाइडहरुको संगठन नेपाल चाइनिज गाइड एशोसिएशनको स्थापना भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले एक समारोहका बीच सो एशोसिएशनको उद्घाटन गरेका हुन् ।
नेपालमा पछिल्लो समय उत्तरी छिमेकी चीनबाट नेपालमा भ्रमणको लागि आउने चिनियाँ पर्यटकको संख्या बढिरहेको र अब एशोसिएशनले त्यसलाई प्राथमिता दिनुपर्ने महराले बताए । बढ्दो चिनियाँ पर्यटकसँगै नेपालमा चिनियाँ गाइडको संख्या बढिरहेको छ । चिनियाँ गाइडहरुको व्यक्तित्व विकास र हकहित संरक्षण गर्ने पवित्र उद्देश्यले एसोसियसन निर्माण गरिएको हो ।
परराष्ट्र मन्त्री महराले चाइनिज गाइडहरुले पेशागत हकहितको लागि मात्र नएर चिनियाँ पर्यटकलाई नेपालको कला संस्कृतिबारे सुसुचित गराएर नेपाल र चीनको बीचमा राम्रो सम्बन्ध कायम गर्न सेतुको काम गर्नुपर्ने बताए । चीन र नेपालबीचमा भृकुटीको पालादेखि नै राम्रो सम्बन्ध रहेको बताउँदै उनले नेपाल र चीनबीचमा घनिष्ट सम्बन्ध बनाइराख्न चाइनिज गाइडहरुको ठूलो योगदान रहेको जानकारी दिए । ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनी भविष्यमा ठूलो पर्यटकीय स्थल बन्ने सम्भावनालाई मध्यनजर गर्दैै चीनदेखि लुम्बिनीसम्मको यात्रा सहज होस भन्ने रणनीतिक उद्देश्य राखेका छौं,’ उनले भने ।
नेपाल र चीनबीच ६ वटा एयरलाइन्समार्फत जोडिए पनि सडक यातायात अन्तर्गत रेलसञ्जालमार्फत जोडिएमा छोटो समयमा नै नेपालको अर्थतन्त्रमा कायापलट गर्न सकिने उनको दावी थियो ।
उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदुत यु होङले १५ वर्ष अगाडि ८ हजारको हाराहारीमा रहेको चिनियाँ पर्यटक गत वर्षसम्ममा ११ गुणाले बढेर ९१ हजारभन्दा बढी पुगेको बताए । चिनियाँ पर्यटकको सुरक्षामा नेपाल सरकारले विशेष ध्यान दिएर सडक पूर्वाधारको विकास गर्न सकेमा थेग्नै नसक्ने चिनियाँ पर्यटक नेपाल भित्रिने जानकारी दिए । गत साता चितवन जलमग्न हुँदा फसेका १ सय भन्दा बढी पर्यटकको छोटो समयमै उद्धार गरेकोमा नेपाल सरकारको सराहना गरे ।