काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनले शुरु गरेको बेल्ट एन्ड रोड इनिसेयटिभ(बिआरआइ) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन् ।
बिहीबार नेपाल चाइनिज गाइड एसोसियसन (नेगा)को उद्घाटनको अवसरमा उनले यस्तो बताएका हुन् । उनले नेपालले बिआरआइबाट फाइदा लिन सक्नुपर्ने बताएका थिए ।
मन्त्री महराले नेपाल–चीनबीच ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाउन पथ प्रदर्शकहरुको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गरेका थिए ।
नेपालको महत्वपूर्ण पर्यटकीय स्थल लुम्बिनीको विकास र प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक भित्राउनुपर्नेमा जोड दिए । साथै नेपाली र चिनीयाँ बीचमा राम्रो सम्बन्ध विकासमा लुम्बिनी महत्वपूर्ण गन्तव्य हुने उल्लेख गरे ।
द्रुत विकासमा लक्षित चीनका पर्यटकको आगमन बढ्दै गएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले चीनको समृद्धिप्रति खुशी व्यक्त गरे ।
‘त्यसबाट हामी फाइदा लिन चाहन्छौं’ उनले भने । पथ प्रदर्शकले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशांसा गरे ।