काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षाका कारण बाढीपहिरोमा परी हालसम्म ९१ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी बाढीपहिरो र डुबानमा परेर २५ घाइते भएका तथा ३८ जना बेपत्ता भएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका अनुसार हालसम्म २ हजार ८ सय ४७ घर पूर्णरुपमा क्षति भएको छ ।
अविरल बर्षाका कारण कारण देशका विभिन्न जिल्लामा बाढीपहिरो र डुबानबाट ठूलो संख्यामा जनधनको क्षति हुनुका साथै जनजीवनसमेत प्रभावित भएको मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म ३ हजार ७ सय २७ पूर्वाधार संरचनाको क्षति भएको छ । बाढीपहिरो र डुबानबाट पीडितहरुको खोज, उद्धार गरी राहत वितरण कार्यलाई सरकारले तीव्रता दिएको मन्त्रालयले जानकारी दिएको छ ।
हाल नेपाली सेनाका ७ र निजी क्षेत्रका ६ वटा हेलिकप्टरसहित मोटरबोट, रबरबोट लगायतका साधनहरु खोज, उद्धार र राहतमा प्रयोग भएको पनि गृह मन्त्रालयले जनाइएको छ । यसैगरी उद्दार तथा राहत वितरणमा सुरक्षाकर्मी सहित २६ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।