काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान ५५ जना कर्मचारी माग गरेको छ । विभागले विभिन्न पदमा अधिकृतसहित ५५ जना स्थायी दरबन्दीका लागि दरखास्त माग गरेको हो ।
विभागले अनुसन्धान अधिकृतमा २२ जना कर्मचारीको माग गरेको छ । जसमा खुल्लातर्फ १२, आदिवासी जनजाति ३, मधेशी ३, महिला २, दलित १ र पिछडिएको क्षेत्र १ जना माग गरेको छ ।
यसैगरी अनुसन्धान सहायकमा ३३ जना कर्मचारी माग गरेको छ । जसमा खुल्लामा १८, आदिवासी जनजातिमा ५, मधेशीमा ४, महिला ३, दलित २ र पिछडिएको क्षेत्रमा १ जना माग गरिएको छ।
दरखास्त फाराम राष्ट्रिय अनुसन्धान विभागको केन्द्रीय कार्यालय सिंहदरबार र क्षेत्रीय कार्यालयहरु धरान, हेटौंडा, पोखरा, वीरेन्द्रनगर र दिपायलमा समेत बुझाउन सकिनेछ । जसका लागि साउन २६ गतेदेखि ३० दिनभित्र आवेदन दिन सकिने भएको छ ।
अनुसन्धान अधिकृतको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ भने अनुसन्धान सहायकको हकमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ ।
अनुसन्धान अधिकृतमा आवेदन दिन पुरुषको हकमा २१ वर्ष पूरा भई २५ ननाघेको हनुपर्ने छ भने महिलाको हकमा २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ । यसैगरी, अनुसन्धान सहायकमा भने पुरुषका लागि १८ वर्ष पूरा भई २५ वर्ष नकटेको तथा महिलाको हकमा १८ वर्ष पूरा भई ३० वर्ष पूरा नभएको हुनुपर्नेछ ।