Logo

सुरक्षित भवन निर्माण तालीम शुरु, १७ नगरपालिकाका इन्जिनियर काठमाडौंमा

सुरक्षित भवन निर्माण तालीम शुरु, १७ नगरपालिकाका इन्जिनियर काठमाडौंमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुरक्षित सहर निर्माणको प्राविधिक दक्षता वृद्धि गर्ने उद्देश्यले काठमाडौंमा स्क्ट्रक्चर एण्ड सेस्मिक इन्जिनियरिङ् विषयक तालिम शुरु भएको छ । ओपन याकोहामा, सिटिनेट याकोहामा र विश्व बैङ्कको सहयोगमा र काठमाडौं महानगरपालिकाले शुरु गरेको तालिममा नेपालका विभिन्न १७ नगरपालिकाका इञ्जिनियरहरु सहभागी छन् ।
तालिमको शुभारम्भ अवसरमा बोल्दै व्यवस्थापिका संसद सदस्य रामवीर मानन्धरले तालिमबाट सिकेको ज्ञान सुरक्षित तथा आरामदायी भवन निर्माणसँगै सम्पदाको बलियोपनामा खर्च गर्नु पर्ने बताए ।
कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले क्षेत्रीय ज्ञानबाट प्राप्त सिकाईले नेपालका सहरहरु व्यवस्थित र सुरक्षित भएको महसुस हुनुपर्ने बताइन् ।
सो अबसरमा महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भूकम्पका समयमा भौतिक संरचनागत जोखिम घटाउँदै जानुपर्नेमा जोड दिए । ‘यो कुरा नागरिकले अनुभूति गर्न पाए भने तालिमको महत्व बढ्छ, सिकेको ज्ञान काम लाग्छ’ उनले भने ।
नेपालका इञ्जिनियरका शैक्षिक ज्ञान पर्याप्त भएपनि  जानेको र डिजाइनमा भएको स्वरुप अनुरुप भवन निर्माण भएको देखिँदैन । सुरक्षित भवन निर्माणकालागि देखिएको आवश्यकतामा चर्चा गर्दै सिटीनेट याकोहामा, परियोजना कार्यालयका, कार्यक्रम निर्देशक केन्द्रा हिराता र सिटी अफ याकोहामाको डिजास्टर प्रिभेन्सन हाउजिङ एण्ड आर्किटेक्चर ब्यूरोका निर्देशक यासुजी होरिकिरीले क्षेत्रीय ज्ञान र सीपले नेपालका सहर सुरक्षित बनाउन सकिने बताए ।
यस अघि नेपाल र जापान गरी ४ चरणमा यस प्रकारको तालिम सम्पन्न भइसकेको छ । ती तालिममा काठमाडौं उपत्यकामा भूकम्पले पारेको प्रभाव र पुननिर्माणका प्राथमिकताहरु, जापानको याकोहामा नगरको एकीकृत सहरी योजना र सिकाइ, इञ्जिनियर र डकर्मीको क्षमता विकासका प्रगति र चुनौती, जापानमा भूकम्प प्रतिरोधी भवन र भौतिक संरचना सम्बन्धी व्यवस्था, विपद् क्षति न्युनीकरणकालागि सहरी तथा बास्तु योजना, भौतिक संरचनामा भारवहन विश्लेषण विधि, आरसि र स्टिल भवनमा भार ग्रहण क्षमता, ढलान गरिएको भवन र ढुङ्गाको गाह्रो भएका भवनहरुका सम्भावित जोखिम र तिनीहरुलाई सुरक्षित बनाउने विधिका विषयमा ज्ञान दिइएको थियो ।
यस पटक ती विषयमा अनुगमन र मुल्याङ्कनको पक्ष समेत समेटिने छ । महानगर र याकोहामा सहरवीच २०१६ जुन ३० तारिखमा सम्पन्न सम्झौताका आधारमा तालिम चक्रिय तालिकामा जापान र काठमाडौंमा पालै पालो सञ्चालन भइरहेको छ । यस अघि काठमाडौं उपत्यकाभित्रका नगरपालिकामा काम गर्ने इञ्जिनियरहरुवीच चलेको तालिममा यस पटक विश्व बैङ्कको थप सहयोग साझेदारितामा  काठमाडौंबाहिरका नगरपालिकाबाट इञ्जिनियरहरु थपिएका हुन्

प्रतिक्रिया दिनुहोस्