काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राहदानी लिने प्रक्रियाका विषयमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले तयार गरिएको सन्देशमुलक वृतचित्र ‘पासपोर्ट’ आज सार्वजनिक गरेका छन् ।
राहदानी विभागको सक्रियतामा तयार पारिएको उक्त वृतचित्रमा राहदानी लिनका लागि आवश्यक प्रक्रिया तथा कन्सुलर सेवा विभागबाट प्रवाह गरिने सेवाका विषयमा पर्याप्त जानकारी उपलब्ध गराइएको छ ।
२४ मिनेट लामो वृत्तचित्रको सार्वजनिक भएसँगै सर्वसाधारणले इन्टरनेटबाटै राहदानी तथा कन्सुरसम्बन्धी जानकारी प्राप्त गरी लाभ लिन सकिने विश्वास लिइएको छ ।
उक्त वृत्तचित्र विभागको वेवसाइट, युट्युव, फेसबुकलगातका अन्य सामाजिक सञ्चालनमार्फत हेर्न सकिने विभागले जानकारी दिएको छ ।
मन्त्री महराले नारायणहिटीस्थित राहदानी विभागको विभागीय जानकारी समेत लिएका थिए । उनले लाइभ इनरोलमेन्ट सेन्टर, राहदानी आवेदन फारम प्रशोधन कक्षहरु, गुनासो व्यवस्थापन शाखा तथा गुणस्तर परिक्षण शाखाको अवलोकन गरे
विभागको अवलोकन तथा जानकारी लिएपश्चात परराष्ट्रमन्त्री महराले विभागको कामकारबाहीलाई सेवाग्राही मैत्री बनाउन निर्देशन दिँदै सर्वसाधारणका गुनासालाई विशेष ध्यान दिनुपर्ने बताए ।
सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागीले विभागको कार्यसम्पादन, विद्यमान समस्या र भविष्यमा आइ पर्न सक्ने नीतिगत तथा व्यावहारिक चुनौतिका विषयमा जानकारी गराएका थिए ।
विभागका महानिर्देशक रामजी खड्काले विभागबाट प्रवाह हुने सेवा र सो कार्यमा देखिएका समस्याका विषयमा मन्त्रीलाई जानकारी दिए ।
यसैबीच भूतपूर्व ब्रिटिस गोरखा सैनिक संयुक्त सङ्घर्ष समितिले परराष्ट्रमन्त्री महरालाई भेटेर पूर्व ब्रिटिस सैनिकका मागका विषयमा पहल गरिदिन अनुरोध गरेको छ ।